जनयुद्धका सिपाही कवि राजु स्याङ्तानको एकल कविता वाचन कार्यक्रम सम्पन्न

 चितवन। नेपाली सर्वहारा वर्गको जनयुद्धका सिपाही समाजशास्त्री पत्रकार एवम् कवि राजु स्याङ्तानको एकल कविता वाचन कार्यक्रम नारायणी कला मन्दिरमा सम्पन्न भएको छ।

जसमा ओ पेङदोर्जे कविता संग्रहका आठ कविताहरू संगित धुनमा वाचन गरिएका थिए। कार्यक्रममा छुटेको प्रचण्ड र दाजुभाई कविताले दर्शकको विशेष ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा बोल्दै कवि राजु स्याङ्तानले यो आफ्नो पहिलो कविता संग्रह भएको र आफू देशभर कविता वाचन एवम् कृति प्रदर्शनमा निस्केको बताए।

उक्त कार्यक्रममा सहभागी चर्चित युवा कवि एवं समालोचक भूपिन खड्काले कविका कविता कृतिहरूमा गोपाल प्रसाद रिमाल र भूपि शेरचनको जस्तै यथार्थ चित्रण देखिएको प्रतिनिधि युवा कविका रुपमा नेपाली जनयुद्धका सिपाही समेत भएकोले वास्तवमा युगको प्रतिबिम्ब पाइने बताए।

कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मीले कवि राजु स्याङ्तानको युगको आवाज बोकेको कविताहरुमा समालोचना आउन जरुरी देखिने बताउँदै कविलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा चितवनका प्रबुद्ध साहित्यिक संस्थाहरूमा आबद्ध साहित्यकार एवम् कविहरूको उल्लेख्य उपस्थिति रहेको थियो।