एसियाली खेलकुद: महिला भलिबलको पहिलो खेलमै नेपाल पराजित

काठमाडौं। चीनको हाङझाउमा जारी एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टिमले पहिलो खेलमै हार बेहोरेको छ।

शनिबार हाङझाउस्थित देक्वाइ स्पोर्ट्स सेन्टरमा भएको प्रारम्भिक चरणको समूह ‘सी’को भलिवल खेलमा नेपालमाथि भियतनामले ३–० को सोझो सेटमा जित हात पारेको हो। पहिलो सेट नेपालले कमजोर देखाउँदा ४–२५ अंकले पराजित भएको छ।

यस्तै, दोस्रो सेटमा नेपालले खेलमा केही सुधार ल्याएपनि जित निकाल्न सकेन। दोस्रो सेटमा नेपाल १६–२५ अंकको अन्तरले पराजित भयो।

यस्तै,तेस्रो सेटमा सुरुवाती अग्रता लिएका नेपाल भियतनामभन्दा कमजोर ठहरियो। नेपाल तेस्रो सेटमा १३–२५ अंकको आधारमा पराजित भयो। नेपालले अब समूहको अन्तिम खेलमा सोमबार दक्षिण कोरियासँग खेल्ने छ।