एसियाली खेलकुद: भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

फाइल तस्वीर

काठमाडौं। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वाटरफाइल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको हो। भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाए।

४९ बलमा शतक पूरा गरेका जयसवालले ७ छक्का र ७ चौका प्रहार गरे। चौथो विकेटको रुपमा पेभेलियन फर्किएका जैसवाललाई नेपालका अविनाश बोहराले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका थिए।

यस्तै, रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाए। नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो।

नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो। भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो।