सवारी दुर्घटनाका घाइतेलाइ लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयले गरे आफ्नै चढ्ने गाडी प्रयोग गरेर उद्धार

फाइल तस्वीर

काठमाडौं। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सवारी दुर्घटनामा परी घाइते भएका दुई जनाको उद्धार गरेका छन्।

आज दिउँसो काठमाडौँबाट बर्दिया जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुई जनालाई गृहमन्त्री पाण्डेयले उद्धार गरेका हुन्।

पाण्डेयको सचिवालयका जैनुद्दीन देवानका अनुसार बा ९१ प २२८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जना युवा र एक जना युवतीको मन्त्री पाण्डेय चढ्ने गाडीमा लिएर अस्पताल पुर्‍याइएको छ।

दाङको धान खोला नजिकै भएको उक्त दुर्घटनामा घाइतेहरूलाई मन्त्री चढ्ने लु १ झ ७४९ नम्बरको गाडीमा लिएर उपचारका लागि भालुवाल अस्पतालमा पुर्‍याइएको हो।

उनीहरूको अवस्था सामान्य रहेको छ। घाइतेको उद्धारमा देवानसँगै सवारी चालक ओमकार मुराउ, व्यक्तिगत सुरक्षा अधिकृत पीएस रमेश यादव र गणेश प्रसाद यादव खटिएका थिए।

मन्त्री पाण्डेयले इलाका प्रहरी कार्यालय भालुवाललाई घाइतेको आवश्यक रेखदेख तथा सहयोग गर्न निर्देशन दिएको गृहमन्त्री पाण्डेयको सचिवालयले जनाएको छ।