मुगु हत्याकाण्ड:अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान

सुर्खेत। मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ।प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रशंसापत्र प्रदान गरिएको हो।

गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो।

उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो। उक्त घटनाको सफल अनुसन्धान गरेको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बुधबार उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन्।

उक्त कार्यक्रममा डीआईजी ढकालले कर्मचारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन कुनैपनि घटनाको सम्बन्धमा जिम्मेवार भई सूक्ष्म रूपमा विधि सम्मत अनुसन्धान गर्न, कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन सबैले जिम्मेवार हुन साथै ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ को पूर्ण रूपमा कार्यान्वयनको लागि प्रतिबद्ध भई काम गर्न निर्देशन दिए।