मन्त्रीका साथै सचिवालय हेरफेरको तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन्। मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात् सहमति गर्ने जनाइसकेका छन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन्। मन्त्रिपरिषद् हेरफेर हुँदा केही मन्त्रालयसमेत साटासाट हुने स्रोतको दाबी छ।

गृह मन्त्रालय लिएको माओवादी केन्द्रले गृह छोडेर अर्थ मन्त्रालय लिँदै छ भने अर्थ मन्त्रालय लिएको कांग्रेसले गृह मन्त्रालय लिने बताइएको छ। यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैको स्वार्थ मिलेको छ। यो समाचार आजको राजधानी दैनिकमा छ।