प्रहरी जवान हत्या प्रकरण: पत्नीले सम्बन्ध बिच्छेद गर्न खोजेपछि गोली प्रहार

काठमाडौं। दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाले सम्बन्ध विच्छेदका लागि ‘फराद पत्र’ दर्ता गरेपछि उनका श्रीमान प्रहरी जवान यमबहादुर झाँक्रीले गोली हानेको खुलेको छ।

घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी प्रहरी जवान थापालाई उनका श्रीमान् झाँक्रीले फागुन ३ मा साँझ झाँक्रीले गोली प्रहार गरेका थिए। गोली लागेर धनमायाको मृत्यु भएको थियो।

आफूसँग भएको पेस्तोलबाट यमबहादुरले ३ राउन्ड गोली हानेका हुन्। उनले हानेको गोली मृतकको बायाँ कोखामा लागेको छ।यमबहादुर कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा कार्यरत थिए। उनले आफूले बोक्ने पेस्तोलबाट गोली प्रहार गरेको भेटिएको छ।

अदालतमा धनमायाले सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्याको कारण ‘पारिवारिक समस्या’ रहेको लुम्बिनीका डीआईजी कुवेर कडायतले बताए।

सहायक हवल्दारले पेस्तोल बोक्न नपाउने भए पनि उनले कसरी पेस्तोल लिएर दाङ पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जबाट आरोपीले ४ दिन बिदा लिएका थिए।

पत्नीलाई गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई लमहीस्थित अर्जुन खोलाबाट पक्राउ गरेको छ।