मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन्। गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए। मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।

मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ। जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन्।

नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ।

मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन्। राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन्।