सिरियामाथि नेपालको शानदार जीत

काठमाडौं। २०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ। मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोल अन्तरले विजयी बनेको हो।

नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरे। अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन्। १३ औँ मिनेटमा अनिताले सिधै कर्नरबाट शानदार गोल गरिन्।

१९ औँ मिनेटमा साम्बाले एक गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन्। ४३ औँ मिनेटमा सिरियाकी नुरु मुस्तफाले एक गोल फर्काए पनि दोस्रो हाफमा रेखा पौडेलले अर्को गोल थप्दे टोलीको जीत सुनिश्चित गरिन्।

नेपालले पहिलोपटक यो प्रतियोगितामा सहभागिता जनाएको हो। प्रतियोगितामा आठ टोली सहभागी रहेका छन्। नेपाल समूह बीमा रहेको छ। नेपालसँगै समूहमा प्यालेस्टाइन, इराक र सिरिया रहेका छन्। नेपालले अर्को खेल बिहीबार इराकविरुद्ध खेल्नेछ।