वर्तमान शिक्षाको संकट र समाधानका तत्कालीन कार्यक्रम

-भूमिका

कुनै पनि व्यक्ति, समाज र देशको जीवन पद्धति परिवर्तन गर्ने महत्वपूर्ण तत्व शिक्षा हो। शिक्षा मानव चेतनाको उच्चतम अभिव्यक्ति र महान्तम सश्लेषण हो। मानव जातिको हजाराैं वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त ज्ञान संश्लेषणको अविछिन्न प्रक्रिया नै शिक्षा हो। तर, एक पटक संश्लेषण भएको विषय त्यो नै अन्तिम सत्य भने हुदैन।

शिक्षाको निरन्तर विकास भैरहन्छ। शिक्षा कुनै पनि देश र समाजको तत्समयको राज्य प्रणाली र अर्थप्रणालीबाट निर्देशित हुन्छ। अतः आज हाम्रो देश र समाजकोलागि जे जति शैक्षिक चुनौति र सम्भावनाहरु पैदा भएकाछन् ति वर्तमान अर्थव्यवस्था र राजनीतिक प्रणालीका परिणामहरु हुन् भन्नेमा कुनै विवाद रहदैन।

वर्तमान शिक्षाका समस्याहरु

शिक्षा विश्वव्यापी मौलिक हकको रुपमा स्थापित विषय हो। नेपालको संविधानले समेत यसलाई आत्मसात गरिसकेको छ। तर, वर्तमान नेपालको शिक्षा प्रणाली जनता र समाजप्रति अनुत्तरदायी छ। लामो समयदेखि कायम एक मुलुक दुई शिक्षाको नीति हाल आएर संघियताको नाममा एक मुलुक अनेकाैं शिक्षा नीति र संरचनाको स्थिति उत्पन्न भएको छ।

आम नागरिकको नैसर्गिक अधिकारका रूपमा रहेको शिक्षा क्षेत्र दलालीकरण, व्यापारीकरण र माफियाकरणको घनघोर खेल मैदान भएको छ। शिक्षा क्षेत्र पूँजीवादी मुनाफा आर्जन गर्ने गज्जवको सुपर मार्केट बनेको छ। शिक्षाको आर्थिक दायित्व झण्डै सम्पूर्णरुपले जनतामाथि थोपरिएको छ। सरकारी शिक्षालयहरु चरम संकटमा छन् भने निजि शिक्षालयहरु मालामाल भईरहेकाछन्।

अर्कोतिर, शिक्षाको उच्च तहमा प्रतिभा र पूँजीको पलायन डरलाग्दो तरिकाले बढिरहेको छ। आ.व.२०७८/०७९ को शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार १ लाख १२ हजार ५ सय २८ विद्यार्थीले नो-अब्जेक्सन सर्टिफिकेट लगेका छन् भने विदेश अध्ययन गर्न जानेहरू हालसम्मकै धेरै मानिएको छ।

त्यही अवधिमा अहिलेसम्मकै अधिकतम वैदेशिक अध्ययनमा १ खर्ब ५७ अर्व ४ करोड रूपैयाँ बाहिरिएको छ। यो स्थितिमा पनि राज्यसँग शैक्षिक जनशक्ति र पूजी पलायन रोक्ने वस्तुवादी एवम् स्पष्ट नीति योजना र कार्यक्रमको समेत उत्तिकै अभाव छ।

दुईखाले शिक्षा नीतिले पद्धति र संरचनामा मात्र भिन्नता ल्याएको छैन,अपितु आर्थिक-सामाजिक विभेद र विषमताको झन् झन् गहिरो खाडल खनिरहेको छ।

मुलुकको समग्र अर्थतन्त्र दातृ निकाय र वित्तीय ऋण, अनुदान र सहयोगमा चलिरहेको छ। जसरी आज विश्वनिगमहरूको सङ्गठन ‘आर्थिक विकास र सहयोगका लागि सङ्गठन ले विश्व वित्तीय संस्थाहरू विश्व बैङ्क, विश्व व्यापार केन्द्र र अन्तर्राष्ट्रिय मुद्राकोषलाई नियन्त्रण गरिएको छ त्यसरी ने नेपालको शिक्षा पनि उक्त प्रवृत्तिको सर्तअनुकूल चलिरहेको छ।

त्यसको परिणाम नै देशको समग्र विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन होइन, बरु विकसित मुलकहरुमा श्रम शक्ति आपूर्ति गर्ने कारखानाकोरुपमा नेपालका स्कुल, कलेज र विश्वविद्यालयहरूले काम गरिरहेका छन्।

यो स्थितिले शिक्षा क्षेत्र दिशाबिहिन र अस्तव्यवस्त भएको मात्र नभाएर सिंगो देश ने दिनप्रतिदिन परनिर्भर र खोक्रो बन्दै गईरहेको छ। शिक्षामा रहेको असमानता, अवैज्ञानिकता, अव्यवहारिकता, परनिर्भरता, पराधिनता आजको शिक्षा क्षेत्रका मुलभुत समस्याहरु हुन् ।
 

-समाधान

माधि नै उल्लेख गरे अनुरुप कुनै पनि देशको शिक्षा त्यो देश र समाजको अर्थ राजनीतिक प्रणालीको ऐना हो। अत शिक्षामा आमूल परिवर्तनको अर्थ हुन्छ वर्तमान अर्थ राजनीतिक प्रणालीको परिवर्तन। जसरी आजको दलाल पूजीवादी अर्थ-राजनीतिक प्रणालीले शिक्षालाई मुनाफा आर्जन गर्ने व्यापारको विषय बनाएको छ।

यो स्थितिको अन्त्य गरेर शिक्षालाई आम जनताको अधिकारको रुपमा स्थापित गर्नु शिक्षालाई सम्पूर्णरुपले राज्यको मातहतमा राख्नु, निःशुल्क शिक्षाको व्यवस्था गर्नु शिक्षालाई उत्पादनमूलक बनाउनु र समग्रमा भन्नु पर्दा वैज्ञानिक समाजवादी अर्थराजनीतिक प्रणालीको स्थापना गर्नु एवम् त्यसको सारवस्तुमा अन्तर्निहित समाजवादी शिक्षा नीति स्थापित गर्नु आजको सर्वाधिक पहिलो आवस्यकता हो।

त्यसका लागि अबको नीति एवम् नारा हुनु पर्दछ शिक्षामा नीजिकरणको पूर्ण अन्त्य । तर, यो विषय नेपालको शैक्षिक आन्दोलनमा निकै लामो समय देखि उठ्दै आएको र किनारा लाग्न नसकेको विषय पनि भएकोले यसको व्यवहारीक कार्यान्वयनको लागि योजनाबद्ध र चरणबद्ध कार्यक्रम आवश्यक देखिन्छ ।

क) बहुप्राविधिक शिक्षा आजको आवश्यकता

समाजवादी शिक्षाप्रणालीको एउटा महत्वपूर्ण विशेषता भनेको बहुप्राविधिक शिक्षा। हो। बहुप्राविधिक शिक्षा सामान्य श्रम-दक्षता सिकाउनुमा मात्र सीमित हुँदैन। यसले श्रमप्रक्रिया, उत्पादन सम्बन्ध र सामाजिक महत्व पनि बुझाउँछ । कुनै मेसिन चिन्ने र चलाउने मात्र होइन, मेसिन बनाउने दक्षता पनि सिकाउँछ।

बहुप्राविधिक शिक्षा कुनै विशेष विषयहरूको मात्र शिक्षा होइन। यो एक विश्व दृष्टिकोण समेत हो। यसले प्रकृति विज्ञान, समाज विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र आदिको आधारभूत ज्ञान सिकाएर विद्यार्थीको चौतर्फी विकास गर्न सहयोग गर्दछ। तर, आज हाम्रो शिक्षा क्षेत्र सामान्यतः प्राविधिक छैन। जे जति छ त्यो आम जनताको पहुँचमा छैन।

ख) निःशुल्क र समान शिक्षा
शिक्षा व्यक्तिगत विषय होइन, र हुन सक्दैन। यो जसरी सामूहिक व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषित ज्ञान हो त्यसरी ने शिक्षा व्यापारको वस्तु हुन सक्दैन। शिक्षामा असमानता अर्को अर्थमा जनघाती कार्य हो।

शिक्षा जनताको अधिकार मात्र होईन अनिवार्यता समेत हो। अबको शिक्षाप्रणालीमा शिक्षाको सम्पूर्ण दायित्व राज्यको हुनु अनिवार्य छ। हरेक नागरिकलाई शिक्षाको समान अवसर अनिवार्य छ । पैसा हुनेहरुले शिक्षाको राम्रो अवसर पाउने र पैसा नहुनेले कमजोर अवसर पाउने विभेदकारी प्रणालीको अन्य आवश्यक छ । अतः समाजादी शिक्षाको महत्वपूर्ण विशेषता रामान र निःशुल्क शिक्षा हो ।

ग) श्रम र उत्पादनसँग जोडिएको शिक्षा

वैज्ञानिक समाजवादी शिक्षाका वारे समाजवादी सिद्धान्तका प्रस्तोता कार्ल माक्रसले श्रमसँग नजोडिएको शिक्षालाई बेकम्मा भन्नुभयो । शिक्षालाई श्रमसँग जोड्‌ने विषयमा समाजवादी सिद्धान्तका अर्का महान् व्यक्तित्वहरु लेनिन र माओका अनुसार पूँजीवादी शिक्षाको आधारभूत कमजोरी भनेकै शिक्षालाई श्रमवाट अलग गराउनु हो। शिक्षालाई स्कुल कम्पनी र किसानका फार्महरूसँगै सञ्चालन गर्नुपर्दछ ।’

शिक्षाको उद्देश्य प्रमाणपत्र उपलब्ध गर्नु मात्र होईन। शिक्षालाई प्रत्यक्ष श्रम र उत्पादनसँग एकाकार गरिनुपर्दछ । श्रमसँग जोडिएको शिक्षाले मात्र देशको समग्र अर्थतन्त्र विकास गर्न योगदान पुर्याउँछ।

समाजवादी शिक्षामा विद्यार्थीलाई किताबी ज्ञान र कक्षाकोठामा मात्र सीमित गरिँदैन, बरु विद्यार्थीलाई उत्पादनमूलक श्रमसँग जोडेर शिक्षा दिइन्छ। शिक्षालय र उद्योगलाई एकाकार गरिन्छ। शिक्षाको एक तह हासिल गरिसकेपछि कोही नागरिक बेरोजगार बसु पर्दैन। हरेक नागरिक उद्यमशील र सिर्जनशील बन्छन्।

घ) अनिवार्य शारीरिक शिक्षा

शारीरिक शिक्षा वैज्ञानिक शिक्षाप्रणालीको अर्को अभिन्न अङ्ग हो। प्लेटोको विचारमा स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ । अतः शारीरिक शिक्षाको उद्देश्य बालबच्चा तथा विद्यार्थीको शारीरिक विकाससँग सम्बन्धित छ। त्यसैले शारीरिक शिक्षालाई हामीले जोड दिनु पर्छ।

शारीरिक शिक्षा विद्यार्थीको शारीरिक स्फुर्ति र शारीरिक विकाससँग मात्र महत्त्व राख्देन बरु उनीहरूको दिमाग र इच्छाशक्ति सबल बनाउन उपयोगी छ। शारीरिक रूपमा स्वस्थ व्यक्तिले श्रममा भाग लिन सक्छ, देशका लागि लड्न सक्छ समाजका लागि समर्पित हुन सक्छ । सक्षम, निरोगी, आत्मविश्वास भएको साहसी, निडर नागरिक उत्पादन गर्नु समाजवादी शिक्षाको उद्देश्य हो।

ड) वैज्ञानिक चेतनाको विकास

वैज्ञानिक समाजवादी शिक्षाको अर्को महत्वपूर्ण विशेषतामध्ये नागरिकमा वैज्ञानिक दृष्टिकोण प्रदान गर्नु हो । १८ घन्टासम्म परिश्रम गर्ने श्रमिक गरिब हुनुको कारण पूर्वजन्मको फल वा खराब भाग्य होइन, पूँजीपतिहरूले गरेको शोषणको उपज हो। मानव समाजमा लादिएको विभेद, उत्पीडन र असमानता निश्चित समयको मानविय उत्पादन हो, यो कुनै शाश्वत विषय होईन। यसका विरुद्ध सङ्घर्ष गर्नु हरेक उत्पीडित र श्रमजीवीको अधिकार हो भन्ने वैज्ञानिक चेतना समाजवादी शिक्षाले दिन्छ। अतः शिक्षालाई काल्पनिक, ईश्वरीय, अध्यात्मवादी, भाग्यवादी र अवैज्ञानिक चेतनाबाट मुक्त गराउनु समाजवादी शिक्षाको अन्तरवस्तु हो।

-संरचनागतस्तरका समाधनहरु

क) पूर्वविद्यालय (अनिवार्य र निःशुल्क) विद्यालय शिक्षाका लागि पूर्वाधार तयार गर्ने, बच्चाको शारीरिक, मानसिक, संवेदनशील र सामाजिक भावना, विकास गर्ने।

ख) आधारभूत तह (निःशुल्क र अनिवार्य) प्रारम्भिक ज्ञान र पढ्न लेख्र सक्ने, बुझ्न सक्ने, सामान्य श्रममा लगाउन सक्ने, सामूहिक मूल्य मान्यता सिकाउने, बहुप्राविधिक शिक्षाको आधार तयार गर्ने, आधा सैद्धान्तिक आधा प्रयोगात्मक बनाउने ।

ग) माध्यमिक तह (समान र अनिवार्य) व्यवसाय र प्रविधिको सैद्धान्तिक र व्यावहारिक ज्ञान, सीप दिइने, प्रत्यक्ष श्रम र उत्पादनसँग जोड्ने, नैतिकवान् नागरिक निर्माण गर्ने ।

घ) विश्वविद्यालय  (ऐच्छिक र निःशुल्क) उच्च शिक्षामा २ वटा शाखा हुन्छन्-

१) प्राविधिक शिक्षा प्रत्यक्ष राष्ट्रको विकास निर्माणमा जोड्ने, प्रत्यक्ष श्रम र उत्पादनमा सहभागी गराउने, नयाँ प्रविधिको आविष्कार र प्राविधिक विशेषज्ञता हासिल गराउने ।

२) साधारण शिक्षा अनुसन्धानात्मक, प्रत्यक्ष देशको नीति निर्माणसँग जोड्ने, नयाँ विचार सिद्धान्तको खोज र विकास गर्ने।

-शिक्षण विधिमा ल्याउनु पर्ने परिवर्तन

शिक्षालाई किताबी ज्ञान र एउटा कक्षाको ल्याबमा मात्र सीमित गरिँदैन, विद्यार्थीको अनुभव, प्रयोग, अन्तरक्रिया र अनुसन्धानबाट सिक्ने विधि लागू गरिन्छ। विद्यार्थीलाई निष्क्रिय श्रोता बनाउने विधि खारेज गरिन्छ र काम गरेर सिक्ने स्वतन्त्र शिक्षण विधि लागू गरिन्छ। विद्यार्थीले सिक्ने किताब, विद्यालयको अलावा परिवार, समाज कृषि फार्म, कारखाना आदि हुन्छ ।

-मूल्याङ्कन विधि

मूल्याङ्कन विद्यार्थीलाई असफल गराउन, डर उत्पन्न गरेर तर्साउन, कसैलाई कमसल कसैलाई असल भनी छुट्टयाई विभेद गर्न नभएर विद्यार्थीको रचनात्मक क्षमता र व्यक्तित्व विकास गर्नका लागि हुनुपर्छ भन्ने मान्यता राखिन्छ। मूल्याङ्कन प्रणाली व्यक्ति नियन्त्रित हुँदैन।

श्रममा सहभागिता, उत्पादन कार्य र सामाजिक व्यवहारका आधारमा मूल्याङ्कन गरिन्छ जहाँ मूल्याकनकर्ता शिक्षक मात्र नभएर सहपाठी, अभिभावक, समाज र स्वयम् विद्यार्थीलाई पनि मूल्याङ्कनकर्ता मानिन्छ।

मूल्याङ्कन विधिले एकअर्कामा प्रतिस्पर्धा गराएर व्यक्तिलाई आत्मकेन्द्रित व्यक्तिवादी, स्वार्थी बनाएर भ्रातृत्व कम गराउँदैन, बरु सहकार्य र सहयोगमा जोड दिई परिपूरक बन्न र सामूहिक भावनाको विकास गराउन प्रोत्साहन गर्दछ।

विद्यार्थीलाई रचनात्मक, सिर्जनशील र स्वाधीन बन्न मद्दत गर्दछ। परीक्षा र मूल्याङ्कनलाई निश्चित समयमा सङ्‌कुचित गरिँदैन, सम्भावित आवश्यकताका आधारमा विद्यार्थीअनुकूलको लचिलो परीक्षा र मूल्याङ्कन प्रणाली लागू गरिन्छ। समाजवादी शिक्षाको मूल्याङ्कन प्रणालीले परिणाम मात्र होइन, कारण र असरलाई समेत ध्यान दिइन्छ।
पाठ्यक्रम
एउटा निश्चित तह पार गरिसके पछि हरेक विद्यार्थिलाई श्रममा अनिवार्य सहभागि गराउनु प्रत्येक सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नु जस्ता विषपलाई समेटेर पाठ्यक्रमको निर्माण गर्नु समाजवादी शिक्षाको मर्म हो।

त्यसलाई लागू गर्न जनताको आवश्यकता र स्थानीय स्रोत-साधनको उपलब्धताका आधारमा लचिलो पाठ्यक्रम निर्माण गरिन्छ। शिक्षक, विद्यार्थी, अभिभावक, समाज र स्वयम् पाठ्यक्रमको निर्माता हुन्छ। पाठ्यक्रम सरल,आवश्यकताकेन्द्रित, व्यावहारिक, वैज्ञानिक बनाउनु हो । भाषिक र सांस्कृतिक विविधतालाई सम्मान गर्नु र सो अनुरुप पाठ्सामाग्री तयार गर्नु।

तत्कालिक कार्यक्रमहरु :

१) सम्वत् २०८३ साल भित्र शिक्षामा निजिकरणको अन्त्यका लागि राज्यलाई दबाबको चरणबद्ध कार्यक्रम संचालन गर्ने ।

२) आउँदो शैक्षिक सत्र अर्थात् २०८१ सालबाट लागु हुनेगरि शिक्षा क्षेत्रमा शिक्षक-प्रध्यापक, जनप्रतिनिधि र सरकारी कर्मचारीको लगानी भएका शैक्षिक संस्थाहरु बन्द गर्ने ।

३) आउँदो शैक्षिक सत्रबाट लागू हुने गरी निजि शैक्षिक संस्थाहरुमा साविकको तुलनामा ५० प्रतिशत शुल्क घटाउन संघर्ष गर्ने ।

४) नीजि र सरकारी सबै शैक्षिक संस्थाहरुले विद्यार्थिको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन संघर्ष गर्ने ।
५) प्रत्येक निजि शैक्षिक संस्थाहरुमा अलग-अलग पोशाकको व्यवस्था बन्द गरी प्याब्सन र एनप्याब्सनको एउटै पोशाक हुने व्यवस्था लागू गर्न संघर्ष गर्ने ।

६) सरकारी शैक्षिक संस्थाहरुमा भएको भ्रष्टाचार र अनियमितताको बिरोध गर्ने ।

७) सबै शैक्षिक संस्थाहरुमा दुर्व्यसनि तथा छात्राहरुमाथि हुने गरेको दुर्व्यवहार बिरुद्ध अभियान सञ्चालन गर्ने।

८) सबै सरकारी कर्मचारी र जन-प्रतिनिधिका छोराछोरी आउँदो शैक्षिक सत्र २०८१ बाट सरकारी विद्यालय पढाउनका निम्ति दबाब दिने ।

९) माध्यायामिक तह पास गरेका प्रत्येक विद्यार्थीलाई आफ्नो क्षमता र रूची अनुसार मुलुकमै (पढ्दै कमाउदै) आयमूलक न्यूनतम कामको सुनिश्चितताका लागी संघर्ष गर्ने ।

१०) विद्यार्थीले उपयोग गर्न नपाएका अधिकार (स्वच्छ र स्वस्थ खानेपानी, स्वस्थ शौचालय, यातायातमा छुट सुविधा आदि), कार्यान्वयनका निम्ति दबाब सिर्जना गर्ने ।

लेखक : अखिल (क्रान्तिकारी ) केन्द्रिय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हरि बिष्ट  हुन्।