व्यापारीहरु विदेशीलाई दिनदहाडै लुट्दै, सरकार टुलुटुलु लुटेको रमिता हेर्दै

नेपाल सांस्कृतिक सम्पदाको धनी देश हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई सांस्कृतिक सम्पदाले थप आकर्षक बनाएको छ। विदेशी पर्यटकहरु यही प्राकृतिक सुन्दरतामा रमाउन र सांस्कृतिक सम्पदाबारे जानकारी लिन नेपाल आउँछन्। ठमेल, स्वयम्भु, वसन्तपुर, दरबारमार्ग,पाटनको कृष्ण मन्दिर,बौद्ध,पशुपतिनाथ,भक्तपुरको दरबार क्षेत्रमा सबैभन्दा धेरै पर्यटक देखिन्छ।

किनकी त्यहाँ निकै आकर्षक र मन लोभ्याउने सम्पदाहरु छन्। हातले कुदिएका ती सम्पदाहरु जति हरेपनि अझैं हेरुहेरु लाग्छ। माथि उल्लेखित क्षेत्रहरु पर्यटकीय स्थल हो।

विदेशीहरु नेपाल आउनेबित्तिकै त्यता पुगिहाल्छन्। विदेशीलाई लक्षित गरी ती स्थलमा विभिन्न मौलिक सामानहरुको पसल राखिएको छ । व्यापारीहरुले हातमा सामान बोकेर हिँडिरहेको देखिन्छ।

तर, विदेशी देख्नेबित्तिकै व्यापारीहरुको ठगीधन्दा शुरु भइहाल्छ । छिनमै सयको माल हजार पुगिहाल्छ । होटलवालाहरुले पनि विदेशी भन्नेबित्तिकै ठगी हाल्छन्। नेपालीले खाएकोभन्दा दोब्बरमा तिनलाई खाना बेचिन्छ।

बसेको पनि दोब्बर नै लिइन्छ। ट्रयाक्सी चालकलाई विदेशी देख्नै हुँदैन् । पाँच सयको बाटोमा पाँच हजार मागिहाल्छन्। विदेशी भन्नेबित्तिकै व्यवसायीहरुको दिमागमा ठग्ने कुरा मात्र आउँछ।

जसरी हुन्छ, तिनलाई ‘चुना’ लगाउनै छ। विदेशीलाई बाटो देखाउने र ठाउँ चिनाउन हिँडेका गाइडहरुको पनि यसमा मिलेमतो छ। व्यापारीबाट कमिशन लिने, विदेशीलाई मँहगोमा सामान भिडाउने । नेपालीहरु ‘अतिथि देव भव्ः’ भन्छन्।

पाहुना भगवान्सरह हुने मान्यता परम्परादेखि नै रहिआएको छ। विदेशी पनि हामी नेपालीका लागि पाहुना हुन् । तर, तिनलाई राम्रो व्यवहार गर्नुको साटो सबै ठग्नमै व्यस्त छन्।

अनि विदेशी यहाँ किन आउने ? व्यापारीहरुले विदेशीलाई धुरुक्कै बनाइदिन्छन्। पर्यटन मुलुकको अर्थतन्त्र बलियो बनाउने एउटा महत्वपूर्ण आधार हो।

विदेशी जति आउँछन्, त्यति नै मुलुकलाई फाइदा हुन्छ । देशमा विदेशी मुद्राको सञ्चिति बढ्छ। विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले विभिन्न कदम चालिरहेको छ । स्थानीय पालिकाहरुले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्।

तर, व्यापारीहरुको यस्तो पाराले विदेशी पर्यटक आउलान् ? व्यापारीहरुले पर्यटकलाई धुरुक्कै बनाउँछन्। विदेशीलाई बाटोमा रोकेर पैसा माग्ने, दुःख हैरानी दिइरहेको प्रशस्तै देखिन्छ।

सरकार कहाँ छ ? विदेशी भित्र्याउने भन्ने अनि उनीहरुको सुविधाको ख्याल नराख्ने ? यसरी पनि चल्छ ? ट्याक्सी चालकहरुले विदेशीसँग मोलमोलाइ गरिरहेको दृश्य सडकमा छ्याप्छ्याप्ती देखिन्छ।

ट्याक्सी चालकहरु मीटरमा हिँड्न मान्दैनन् अनि बीच बाटोमा घण्टौं मोलमोलाइ गरेर बस्छन्। त्यस्ता चालकलाई कसले कारबाही गर्ने ? वास्तवमा भन्ने हो भने व्यापारीले नेपालीलाई त ठग्न छोड्दैनन्, विदेशीलाई के बाँकी राख्थें ? जति पनि पर्यटक नेपाल आउँछन्, ती सबै ओर्लिने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हो । ओर्लिनेबित्तिकै विदेशी ठगिन शुरु हुन्छ ।

विमानस्थलभित्र सञ्चालनमा रहेको हरियो प्लेटको ट्याक्सीको ठगीधन्दा शुरु हुन्छ। त्यहाँ जम्मा २०७ वटा हरियो प्लेटको ट्याक्सी सञ्चालनमा छ। २०५० सालदेखि नयाँ दर्ता खोलेको छैन् । त्यहाँ चल्ने ट्याक्सीको मीटर पनि छैन्। मान्छे हेरेर ट्याक्सी चालकले भाडा असुल्छन्। नेपालीसँग त ट्याक्सी चालकले दोब्बर भाडा असुल्छन् भने पर्यटकसँग त तेब्बर उठाइन्छ।

नेपालीलाई एयरपोर्टबाट काँडाघारी आएको तीन हजार पाँच सय रुपैयाँसम्म लिइन्छ । विदेशी एयरपोर्टबाट ठमेल गएको पाँचदेखि सात हजार रुपैयाँसम्म असुलिन्छ।

अझै होटलबाट समेत कमिशन खान्छन्। जुन होटलमा कमिशन आउँछ, त्यही होटलमा लगेर ट्याक्सी चालकले उतारिदिन्छन् । एयरपोर्टमा चल्ने ट्याक्सीले दिँउसै अन्धकार पारेर यात्रु ठगिरहेका छन्, तर सरकार मौन छ।

हरियो प्लेटका ट्याक्सीको भाडा कति हो ? कसैलाई जानकारी छैन् । सरकारले त्यहाँ सञ्चालित ट्याक्सीमा मीटर जडान गर्न चासो पनि देखाएको छैन् । यसविषयमा न यातायात व्यवस्था विभागको ध्यान जान्छ न नापतौल विभागको। यी दुवै निकाय टुलुटुलु ट्याक्सीले ठगेको हेरेर बसेका छन् । विभागले एयरपोर्टका ट्याक्सीले कालो प्लेटको ट्याक्सीको भाडाको डेढीजति पैसा लिन पाउने बताउँदै आएको छ ।

अधिकांशलाई सरकारले तोकेको भाडा कति छ ? त्यो नै थाहा छैन् । झन् विदेशीलाई त के थाहा । यसको फाइदा एयरपोर्टका ट्याक्सी चालकले उठाए।

सरकारले यति किलोमिटरबाट यति किलोमिटरसम्म यति रुपैयाँ भाडा भनेर तोकिदिए त सर्वसाधारणलाई सहज हुने थियो । मीटरजडित ट्याक्सीले पनि यात्रु ठगिरहेका छन् । मीटर त छ तर देखाउनका लागि मात्रै । मीटरमा जाँदा दुई सय रुपैयाँ उठ्ने बाटोमा ट्याक्सी चालकले हजार रुपैयाँ मागिदिन्छन् ।

सरकारका निकायहरु निदाएपछि यात्रु ठगिनु त स्वाभाविकै हो। मीटरवाला ट्याक्सीमा पनि लामो समयदेखि सिण्डिकेट कायमै छ। नयाँ ट्याक्सीको दर्ता नखोलेको दशकौं बितिसक्यो।

काठमाडौं उपत्यकामा जम्मा नौं हजार ट्याक्सी सञ्चालनमा छ। त्यो पनि सेवासुविधा दिनसक्ने खालको भए त हुन्थ्यो नि। ट्याक्टरको आवाज आउने ट्याक्सी सडकमा गुडिरहेका छन्।

सेवासुविधा केही छैन्, भाडाचाँहि दोब्बर असुलिन्छ। यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा २० वर्षे पूराना ट्याक्सीको स्क््रयाप गरेको नम्बर प्लेट खुलेआम लाखौंमा बिक्रीवितरण भइरहेको छ। जुन सरासर गैरकानुनी छ। सरकार यहाँ पनि निदाएको छ। सरकारी अड्डामै गैरकानुनी काम चलिरहेको छ तर सरकार देखेर पनि अनदेखा गरिरहेको छ।

सरकारले न यातायातमा भएको सिण्डिकेट हटाउन सक्छ, न भएका बेतिथि हटाउन सक्छ, न बजार अनुगमन नै गर्छ। देशमा नाम मात्रको सरकार हो । हरेक क्षेत्रमा व्यवसायी सरकारभन्दा बलिया छन्।

सरकार व्यवसायीको सामुन्ने घुँडा टेक्छ। अनि कहाँबाट स्वदेशी र विदेशीले सुविधा पाउँथे । ठगिनु नेपालीको नियति बनिसकेको छ। नेपाली त ठगिए तर व्यापारीहरुले विदेशीलाई पनि ठग्न छाडेनन्।

अहिले देशमा आर्थिक मन्दी छ । व्यापारीहरु व्यापार व्यवसाय नभएको गुनासो गर्दै आएका छन्। भाडा तिर्नसमेत गाह्रो परेको व्यापारीहरुको भनाइ छ। तर, एक जना ग्राहक पसलमा छिर्नुपर्छ, खल्ती रित्तो पार्दिहाल्छन्।

एक सयको सामानलाई हजार रुपैयाँमा भिडाउँछन् । अनि कसले सामान किन्छ ? नाफा खानुपर्छ तर ठिक्क मात्रै । ग्राहक मर्कामा पर्नेगरी नाफा खान त पाइएन् नि ।

हरेक क्षेत्रलाई नियमन गर्न मन्त्रालय र विभाग छ । ती निकायले कानुन पनि बनाएका छन् । तर, खोइ त कार्यान्वयन ? उद्योग मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, नापतौल विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग छ । तर, ती निकाय सुतेर बसेको छ जसका कारण पर्यटक दिँउसै व्यवसायीबाट लुटिएका छन् ।

व्यवसायी गर्ने नाममा ठग्ने, लुट्ने र राजश्व छली गर्ने प्रवृत्ति मौलाएको छ । सरकार कमजोर हुँदा व्यवसायीहरुले आफ्नो मनोमानी चलाए । व्यापार भन्नेबित्तिकै ‘लुट्ने’ थलो हो भन्ने छाप सर्वसाधारणको मनमा परेको छ । सर्वसाधारणको विश्वास व्यापारीहरु माथिबाट उठिसकेको छ ।

उपभोक्ताका नाम बेचेर थुप्रै नेता बनेका छन् । नेता नबनुञ्जेल दिनरात व्यापारीको विरोध गर्नेहरु अहिले मौन छन्।हरेक क्षेत्रमा बेतिथि छ, कता हराए उपभोक्तावादीहरु ? उनीहरु कतै चुइक्क बोलेको सुनिन्न। जसले जति ठगेपनि छुट।

ट्याक्सीले स्वेदशी र विदेशीलाई सोत्तर बनाइरहेको छ तर बाटोमा खटिएका ट्राफिक प्रहरीहरु नजरअन्दाज गरिदिन्छन्। अनि मासिक अर्बौं खर्च गरेर यी सरकारी निकायका कर्मचारी पाल्नुको औचित्य के ? राज्यको ढुकुटी सकाउने काम मात्र भइरहेको छ।

विदेशी भन्नेबित्तिकै सबै धनी हुन्छन् भन्ने छैन् । नेपालबारे अध्ययन गर्न पनि आएका हुन्छन् । तर, उनीहरुलाई ठग्न छोडिदैन् । नेपालीहरुले अरु केही नजानेपनि ठग्नेचाँहि मज्जाले जानेका छन्।

नेपाल भ्रमणमा आएकाहरुले यहाँ राम्रो व्यवहार पाए भने आफ्नो देशमा गएर प्रचार गर्छन् । तर, यहाँबाट ठगिएर गएपछि उनीहरुले त्यस्तै प्रचार गर्छन् । सीमित व्यवसायीका कारणले नेपालको बद्नाम भएको छ।