आइसिसी लिग–२ मा आज नामिबियासँग नेपाल खेल्दै,नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए। आज विकेट पनि परिवर्तन भएको छ। आज दोस्रो विकेटमा खेल भएको छ। जहाँ ब्याटिङ सहयोगी मानिन्छ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन्।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो। दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो। अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए।

आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए। नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन्। जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी,करण केसी, ललित राजवंशी र देव खनाल।

बेन्चमा: आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ।