साफ यू–१६ महिला फुटबल: भारत र भुटानबिच उद्घाटन खेल

काठमाडौं। साफ यू–१६ महिला फुटबल प्रतियोगिता शुक्रवारदेखि सुरु हुँदै छ। प्रतियोगिता खेलहरू ललितपुरस्थित च्यासल मैदानमा खेलाइने छ। प्रतियोगिता फागुन २७ गतेसम्म चल्नेछ।

प्रतियोगितामा नेपालसहित चार वटा राष्ट्रको सहभागिता रहने छ। प्रतियोगितामा सहभागी हुन भारत,बङ्गलादेश र भुटानका टोली पनि नेपाल आइसकेका छन्।

प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन्। त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको पहिलो खेल भुटान र भारतबिच खेलिने छ। खेल नेपाली समय अनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ। दोस्रो खेल शनिवार नेपाल र बंगलादेशबिच खेलिने छ।

यसैगरी प्रतियोगिताको तेस्रो खेल फागुन २१ गते भुटान र नेपालबिच खेलिने छ। चौथो खेल फागुन २२ गते बङ्गलादेश र भारतबिच खेलिने छ।

यसैगरी समूहगत चरणको पाँचौँ खेल फागुन २४ गते नेपाल र भारतबिच खेलिने छ। समूहगत चरणको अन्तिम खेल फागुन २५ गते बङ्गलादेश र भुटानबिच खेलिने छ।

प्रतियोगिताको फाइनल खेल भने फागुन २७ गते खेलिने छ। प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै आफ्नो टोलीको घोषणा गरिसकेको छ।

नेपाली टोलीमा गोलरक्षकका रुपमा झरना डुम्राकोटी,सुनिता स्याङ्तान र लक्ष्मी ओली रहेका छन्। स्ट्राइकरमा पूजा गिरी,अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु रहेका छन्।

डिफेन्डरमा दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द,कृतिषा तामाङ,अंशु बिके,मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो रहेको एन्फाले जनाएको छ।

मिडफिल्डरमा भने भूमिका बुढाथोकी,आशिका कार्की,बविता कार्की,आयुषा रौले,डिकीकुमारी स्याङ्बो तामाङ,आयुषा गुरुङ,रविना बिके र सविना तामाङ रहेका छन्।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन्। प्रतियोगिताको अनुमानित बजेट दुई करोड १२ लाख २० हजार नौ सय रुपैयाँ रहेको छ।