प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

सांकेतिक तस्वीर

पोखरा । पोखरामा प्रहरी बनेर ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा ६ लेकसाइडबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पोखरा ६ शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र फूलबारी बस्ने २१ वर्षका विवेक ठाकुर छन्। उनीहरुले रक्सी पिएर आफूहरू प्रहरी भएको भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ। 

हामीहरू प्रहरीको ठुलै व्यक्ति हौ भन्दै वाकिटाकी समेत देखाएका भेटियो,प्रहरी निरीक्षक सूर्य रानाले भने,स्थानीयहरूलाई डर त्रास र धम्की दिएको गुनासो आएपछि पक्राउ गरिएको हो।

उनीहरूको साथबाट १ सेट वाकिटाकी बरामद गरिएको छ। सम्झाउन खोज्दा ड्युटीमा रहेका प्रहरीलाई नै अभद्र व्यवहार गरेको रानाले बताए। उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान थालिएको उनको भनाई छ।