नेपाल घुम्न आउने विदेशी पर्यटकको ओइरो

काठमाडौं। नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपाल गत वर्ष सन् २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

यो वर्ष २०२४ को जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५२६ विदेशी नेपाल आइसकेका छन्। २०२४ को फेब्रुअरी महिनामा ९७ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्।

फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग (हवाई माध्यम) मार्फत नेपाल घुम्न आएका हुन् ।

बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको फेब्रुअरीमा २४ हजार १७१ जना बढी पर्यटक नेपाल आएका हुन्।

अघिल्लो वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशी नागरिक हवाई माध्यमबाट नेपाल भित्रिएका थिए।

यस्तै, सन् २०२४ को जनवरी महिनामा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार १०० जना आए। जबकि, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना मात्रै विदेशी नेपाल घुम्न आएका थिए।