कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा ९ बजे संसदीय दलको बैठक बोलाइएको छ।

सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ।

संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो।