सरकार र मिटरब्याज पीडितबीच ४ बुँदे सहमति

काठमाडौं। सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति भएको छ।गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट सहमति जुटेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बताए।

मैले पहिले पनि संसद्‍मा कुरा उठाएको थिएँ,उहाँहरुको एक/एक मिनेट धेरै हो भनेको थिएँ,उनले भने,पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ,वार्ता टोलीका संयोजकज्यू र सदस्यहरु पनि प्रतिबद्ध हुनुहुन्थ्यो।

लामो समय यात्रा गरेर काठमाडौंसम्म आउनुपर्ने अवस्था समेत सिर्जना हुनु नहुने उनले भनेका छन्। यद्यपि, सहमति भएको भन्दै उनले भने, ‘मिटरब्याजबाट पीडितहरुले पूर्ण न्याय पाएका दिनलाई उत्सवका रुपमा मनाउने छौं, यो संघर्ष लामो छ। हामीले यो सुरुवात गरेका छौं।

वर्षौंदेखि जकडिएको समस्या समाधानका लागि सरकारले दरिलो कदम चालेको उनले भनेका छन्। उनले सम्झौतामा भएका बुँदाहरुसँग सरकार प्रतिबद्ध रहने बताएका छन्। यो सँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैंले उनीहरुको कुरा सुनेका थिए । त्यसपछि पीडितसँग सहमति गर्न सरकार हदैसम्म लचक बन्न तयार रहेको बताएका थिए।

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए। काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो।