प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेसको छलफल

फाइल तस्वीर

काठमाडौं।नेपाली कांग्रेसले प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित बैठक बसेर कांग्रेसले सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको हो।

पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहित छलफल गरेका हुन्।

छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता अर्जुननरसिंह केसीले प्रदेशहरूमा थप दलका सहयोग जुटाएर पार्टी नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे कुराकानी भएको बताए।

कांग्रेस नेतृत्वमा अहिले सदूरपश्चिम,लुम्बिनी,गण्डकी र कोशी सरकार छ। सत्ता गठबन्धनमा नरहेका दलहरूसँग संवाद गरेर प्रदेश सरकारहरूलाई निरन्तरता दिनेबारे कांग्रेसले छलफल गरेको हो।

सहमहामन्त्री जीवन परियारका अनुसार छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेका थिए।

‘प्रदेशहरूमा जुन-जुन दलसँग छलफल गरेर सरकारलाई निरन्तरता दिन सकिन्छ त्यसमा अगाडि बढ्ने सहमति भएको छ,उनले भने,यसमा केन्द्रले पनि सहयोग गर्नेछ। सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा पनि भएको छ।

बूढानिलकण्ठमा भएको छलफलमा सहभागी कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले दलहरू अहिले मध्यावधि गर्ने पक्षमा नदेखिएकोले प्रदेश सरकारलाई निरन्तरता दिनेबारे कुराकानी गरिएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २१ गते कांग्रेससँग सहकार्य तोडेर नयाँ समीकरण बनाउँदै मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। नयाँ गठबन्धनबाट संघीय सरकार बनेपछि यसको असर प्रदेशहरूमा पनि देखिएको छ।

कांग्रेस नेतृत्वमा रहेका प्रदेश सरकारहरूबाट माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाइएका छन् भने ती दलहरूले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदा विभिन्न प्रदेश सरकार अल्पमतमा परेको अवस्था छ।