सिन्धुलीको दुम्जास्थित टेलिकम टावर परिसरमा कुकर बम विष्फोट

सांकेतिक तस्वीर

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको छ। आज बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो।

विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो।

टोलीले नेपाल टेलिकमको टावर परिसरभित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको,कुकरको भाग भुईँमा रहेको,त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको जनाएको छ। विष्फोटमा संलग्नहरुको खोजी तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।