अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने

काठमाडौं। अन्ततः मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने भएको छ। यसअघि सरकारले मात्रै नेपाली कामदार कोरिया पठाउँदै आएकामा अब भने मेनपावरहरुले पनि दक्ष कामदार पठाउन मिल्नेगरी कार्यविधि तयार गरिएको हो।

श्रम रोजगार तथा सामाजिक मन्त्रालयले १७ फागुनमा कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० जारी गरेसँगै कोरियामा म्यानपावरमार्फत पनि श्रमिक पठाउने बाटो खुला भएको हो।

दक्षिण कोरियाले सुरूमा कृषि तथा पशुपालन, उत्पादनमूलक र सीप बिल्डिङ्ग क्षेत्रमा नेपाली कामदार लैजाँदै आएकोमा सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र थपिएको छ। हाल ईपीएसबाट गइरहेका नेपालीहरूको ई–९ भिसा हो भने अब मेनपावर कम्पनीहरुले पठाउने ई–७ भिसा दक्ष कामदारका लागि हो।

यो भिसा प्रणालीबाट कोरिया काममा पठाउने मेनपावरसँग भाषा र सीपको लागि प्रचलित मापदण्डबमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने छ । भाषा सिकाउन आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा २ जना भाषा प्रशिक्षक अनिवार्य गरिएको छ।

ई–७ भिसामा कोरिया जान इच्छुक नेपालीले कोरिया सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त संस्था वा इजाजतपत्र प्राप्त संस्थाबाट सञ्चालन भएको कोरियाली भाषा ज्ञान र पेशागत सीप परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

सो भिसामा कोरिया जाने कामदारको मागपत्र प्रमाणीकरण र व्यवस्थापन कोरियाली सरकार र नेपाल सरकारले गर्नेछ। भाषा परीक्षा र सीप परीक्षणसमेत निःशुल्करूपमा नेपालमा नै सञ्चालन गरिनेछ।

ई–७ भिसामार्फत् कोरिया जाने कामदारको हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, समाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने छ।