मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सीडीओ कार्यालयमा डेस्क स्थापना

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उक्त जानकारी दिएका हुन्। विज्ञप्तिमा लेखिए अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर,पद,इमेल,सम्पर्क नम्बर,मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ।

साथै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।

मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।

भाइबर र ह्वाट्सएपमा म्यासेज पठाउनका लागि ९८५१३६०६०३ नम्बर तोकिएको छ । फोन नम्बर ०१-४२११२५७ र टोल फ्री नम्बर १११२ मा पनि सम्पर्क गर्न सकिने छ ।

meterbyaj@gmail.comमा पनि इमेल पठाउन सकिने गृह मन्त्रालयले जनाएको छ।