होलीमा जथाभावी रंग दल्ने र होहल्ला गर्ने काठमाडौंबाट ८३ पुरुष र ९ महिला पक्राउ

काठमाडौं। होली मनाउने क्रममा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला काठमाडौंबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी दीपेश बस्यालका अनुसार पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ।

त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २ पांग्रे सवारी (मोटरसाइकरस्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०२ थान सवारी साधन नियन्त्रणमा लिइएको छ। अन्य अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ।

होलीलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो। ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो।