रास्वपा छाडेको रमेश खरेलले गरे घोषणा

काठमाडौं। पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएका छन्। पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा राजीनामा पठाएका हुन्।

एक टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रममा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए।

खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए। केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरेर उनी पछिल्लो समय रास्वपाको सम्पर्कमा थिएनन्।

रास्वपा सरकारमा सहभागी भएको,लामिछाने गृहमन्त्री बनेको र पार्टीमा आन्तरिक लोकतन्त्र नदिएको विषयमा खरेलको विमति थियो । पार्टीले प्रस्टीकरण सोधेपछि आफूले राजीनामा दिएको उनले बताए ।

गत वर्ष वैशाख १० मा भएको बारा— २ को उपनिर्वाचनमा खरेल रास्वपाबाट उम्मेदवार बनेका थिए। उनी उपनिर्वाचनमा जसपाका उपेन्द्र यादवसँग पराजित भए।

उपनिर्वाचनपछि खरेल नेतृत्वको नेपाली सुशासन पार्टीलाई रास्वपामा मर्ज गर्ने सहमति भएको थियो। रास्वपा उक्त सहमतिमा इमान्दार नदेखिएको भन्दै खरेल रुष्ट थिए। सभापति लामिछानेबाट प्रश्न उठाउँदा प्रस्टीकरण सोधेपछि रास्वपाबाट बाहिरिन खरेललाई बाटो खुलेको हो।