सुदुरपश्चिम प्रदेशमा नाउपाले मुख्यमन्त्री पाउने

कैलाली। सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने लभगग पक्का भएको छ । सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच भद्र सहमति भएको हो।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित भौतिक योजना मन्त्रालय दिने विषयमा सहमति भएको बताइन्।

उनका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिमा नाउपालाई मुख्यमन्त्री दिन सहमत भएका छन्।

सुदूरपश्चिममा नाउपा नयाँ सत्ता गठबन्धनको सरकार निर्माणमा निर्णायक भएकाले मुख्यमन्त्रीसहितका मन्त्रालय दिएर सरकार बनाउने विषयमा सहमति भएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

अध्यक्ष श्रेष्ठले पटक(पटकको छलफलपछि मुख्यमन्त्री र भौतिकमन्त्री दिने विषयमा शीर्ष नेताहरू सहमतिमा पुगेको बताइन्।

सुदुरुरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने नाउपाले दावी गर्दै आएको थियो। आफूहरुले दाबी नछोडेपछि शीर्ष नेताहरूबीच भद्र सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन्।

यदि सहमति कार्यान्वन भएमा नाउपाका कैलाश चौधरी मुख्यमन्त्री बन्ने छन्। कैलाश चौधरी नाउपा संसदीय दलको नेता हुन्।