माइतीघरदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

फाइल तस्वीर

काठमाडौं। जिल्ला प्रशासन कार्यालय,काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ।गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

चौतर्फी आलोचनापछि सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

शुक्रबार नै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ।

साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्‍याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ।

स्थानीय प्रशासन ऐनमा सार्वजनिक वा व्यक्तिगत सवारी,घर वा सम्पत्ति तोडफोड,आगजनी वा लुटपाट गरी क्षति पुर्‍याए प्रमुख जिल्ला अधिकारीले कसूर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो असुल गरी बिगो बराबर जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

May be an image of text