बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं। सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिएको हो।

शाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।

त्यसैगरी, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्वास्थ्य संगठनको आह्वानअनुसार आगामी जेठ असारभित्र यसअघि खोप लगाउन छुटेका १४ लाख ५ सयभन्दा बढी बालबालिकाहरूलाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको छ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाउने योजना छ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने छन्।

आठ वर्षअघि उत्पादन नभएर विश्वव्यापी रूपमा बन्द गरिएको सुइमार्फत् दिइने पोलियोको खोप नेपालमा पुनः शुरू गर्न लागिएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्वास्थ्य संगठनको आह्वानअनुसार आगामी जेठ असारभित्र यसअघि खोप लगाउन छुटेका १४ लाख ५ सयभन्दा बढी बालबालिकाहरूलाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको छ।

यो अभियानमा वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार बालबालिकाहरूलाई खोप दिइने छ। यो खोप अभियान विद्यालय केन्द्रित हुने छ।

जसमा साढे ४ वर्षदेखि ७ वर्ष उमेर समूहका बालबालिकाहरू समेटिनेछन् । विद्यालयमा छुटेका बालबालिकाहरूलाई स्थानीय स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम रहेको छ।

नेपालले सन् २०१४ मै पोलियोविरुद्धको खोप (आईपीभी) शुरू गरे पनि सन् २०१६ देखि सन् २०१८ को मध्यसम्म विश्वव्यापी रूपमै खोपको अभाव सिर्जना भएका कारण नेपालमा पनि खोप रोकिएको थियो।

यो खोप आउनुअघि पोलियोको मुखबाट दिइने ओरल खोप मात्रै थियो। तीन प्रकारको पोेलियो खोपमध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) हालसम्म पनि नियमित रूपमा सञ्चालन भइरहेको छ। खोपको माध्यमबाट दिइने टाइप टु खोप भने बन्द थियो।