कान्तिपुर र लालीगुराँस सहित यी चार सहकारीलाई कर तिर्न ताकेता

काठमाडौं। कर नतिर्ने चार सहकारी संस्थालाई बक्यौता कर चुक्ता गर्न सरकारले ताकेता गरेको छ। समस्याग्रस्त घोषणा भएको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड,श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था सहित क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटीभ लिमिटेडलाई कर तिर्न मध्यमस्तरीय करदाता कार्यालयले ताकेता गरेको हो।

कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला नगरेका उक्त सहकारी संस्थालाई कर तिर्न ताकेता गरेको हो।

कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क,एसएमएस,ईमेल तथा पत्राचार गरी जानकारी गराइएको कार्यालयले जनाएको छ।

कार्यालयबाट कारोबार स्थलमा संकलन भ्रमण गर्दा बक्यौता रकम दाखिला नभएको वा कम दाखिला भएको सूचनामा उल्लेख छ।

बक्यौता रहेका कुनै करदाताले जानकारी तथा पत्र प्राप्त गरेको भए सोही सूचनालाई आधार मानी कर बक्यौता हुनु नपर्ने कुनै प्रमाण भए त्यस्तो प्रमाण पेस गरी वा रकम बैक दाखिला गरी बक्यौता फरफारक गर्नु हुन कार्यालयले आह्वान गरेको छ।

सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बक्यौता फरफारक नभए आयकर बक्यौताका हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा भ्याट बक्यौताका हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित प्रक्रिया अपनाइ कानुनी कारबाहिबाट असुल गरिने जनाइएको छ।

कान्तिपुर सेभिङ एन्ड क्रेडिटले आयकर नतिरेको सूचनामा उल्लेख छ। यस्तै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले आयकर र भ्याट दाखिला गरेको छैन।

शिखरदीप बहुउद्देश्यीय सहकारीले पनि आयकर र भ्याट कर दाखिला नगरेको कार्यालयको सूचनामा उल्लेख छ। उक्त सहकारी मर्ज भएर शिवशिखर बहुउद्देश्यीय सहकारी भइसकेको छ।

बचतकर्ताको अर्र्बौं अपचलन गरेको आरोपमा संस्थाका तत्कालीन अध्यक्ष केदारनाथ शर्मासहित पदाधिकारी पूर्पक्षका लागि थुनामा छन्। क्यापिटल सेभिङ एन्ड क्रेडिटले पनि आयकर दाखिला नगरेको विभागको सूचनामा उल्लेख छ।