नेकपाको स्थापना दिवस र लेनिनको जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा विज्ञप्ति जारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले त्यसको विरोधमा भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपाको स्थापना भएको थियो।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ।

 यसैबीच संसारभर क्रियाशिल पत्रकारहरुको साझा संगठन अन्तर्राष्ट्रिय पत्रकार तथा लेखक संगठनले आज एक विज्ञप्ति जारी गर्दै रुसी कम्युनिष्ट पार्टीका नेता लेनिनको जन्मदिन र नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा संसारका कम्युनिष्ट पार्टीहरुलाई समाजवाद स्थापनाको लागि एकजुट हुन आह्वान गरेको छ।

सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका छन्।

यस्तो छ केसीद्वारा जारी गरेको प्रेस विज्ञप्ति 

‘आज २२ अप्रिल । महान् लेनिनको १५५औं जन्मजयन्ती। नेकपाको ७६औं स्थापना दिवस । विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको निम्ति एक ऐतिहासिक दिन । आजकै दिन अर्थात् सन् १८७० अप्रिल २२ तारिखका दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता, मार्क्सवादको पहिलो प्रयोगकर्ता एवं महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका नायक, विश्व सर्वहारा वर्गको पहिलो अधिनायकत्व स्थापनाका नायक, नयाँ युगका सूत्राधार तथा लेनिनवादका प्रवर्तक महान् लेनिनको जन्म भएको दिन हो । साथै आजकै दिन अर्थात् सन् १९४९ अप्रिल २२ (विक्रम सम्बत २००६ साल बैशाख १० गते) का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको दिन हो। आजको यस ऐतिहासिक दिनमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् लेनिनप्रति आभार तथा सम्मान व्यक्त गर्दछ र नेपाली कम्युनिस्ट आन्दोलनलाई बधाई तथा शुभकामना व्यक्त गर्दछ । महान् लेनिनले व्याख्या गर्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको आजसम्म पनि कायम रहेकोले लेनिनले गर्नुभएको मार्क्सवादको थप विकास, दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तथा संगठन (लेनिनवादी संगठनात्मक सिद्धान्त-जनवादी केन्द्रीयताको सिद्धान्त)का क्षेत्रमा गर्नुभएको थप विकास र उहाँले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र संसारभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु, श्रमजीवी जनसमुदाय तथा उत्पीडित राष्ट्रहरु एवं अन्तर्राष्ट्रिय सर्वहारावर्गले महान् लेनिनले देखाउनु भएको बाटोमा अगाडि बढेमा मात्र उहाँको १५५ औं सच्चा जन्मजयन्ती मनाएको ठहर्नेछ भन्ने विश्वास गर्दछ । किनभने आज साम्राज्यवाद, सामन्तवाद तथा दक्षिणपन्थी संशोधनवाद विश्व सर्वहारा क्रान्ति र सिंगो नेपाली क्रान्तिको बाधक बन्न पुगेको छ । यस विश्व परिस्थितिमा लेनिनका शिक्षाहर उत्तिकै महत्वपूर्ण रहेको हाम्रो संगठनको ठहर छ । धन्यवाद ।’
मिति:२२ अप्रिल २०२४
(१० बैशाख २०८१)
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र