सप्तरीमा डा. केसीको अवस्था गम्भीर

सप्तरीमा उपचाररत डा. गाेविन्द केसी

एघारौं चरणको अनसन सकेर टिचिङ अस्पतालको वार्डमा उपचाररत डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी पुग्दा ग्यास्ट्रिकले च्यापेपछि अत्याधिक च्यापेपछि अस्पताल भर्ना भएका छन् ।

 

डा. केसी गएको बिहीबार पेट दुख्दादुख्दै सप्तरी हिँडेका थिए । सप्तरी जाने बेला पनि उनको माथिल्लो पेट दुख्दै थियो । त्यहाँ दुखाइ कम गर्न उनले लगातार इन्जेक्सन लिएका थिए ।

 

सप्तरीमा बाढीपीडितहरूको निम्ति स्वास्थ्य शिविर चलाएर उनी सोमबार बेलुकी काठमाडौं फर्केका हुन् । यहाँ आउनेबित्तिकै मंगलबार बिहानबाट माथिल्लो पेटको दुखाइ चर्केपछि फेरि टिचिङ अस्पताल भर्ना भएको डा. सुमन आचार्यले जानकारी दिए ।

 

‘उहाँलाई ग्यास्ट्रिकले च्यापेको छ । यो लामो समयदेखि अनसन बसेर भोकभोकै रहनुको परिणाम हो,’ उनले मंगलबार सेतोपाटीसँग भने, ‘यसपालि पनि अनसनपछि राम्ररी नतङ्ग्रिँदै सप्तरी हिँड्नुभयो । यसले उहाँको ग्यास्ट्रिक समस्या बल्झिएको छ ।’ उनका अनुसार सप्तरी जान लागेका डा. केसीलाई टिचिङका डाक्टरले उपचार छाडेर नहिँड्न सुझाएका थिए । लामो अनसनपछि शरीरका अंग सामान्य अवस्थामा नफर्किएको र यस्तो बेला मधेसको गर्मीमा जाँदा झन् समस्या हुनसक्छ भन्दै डाक्टरहरूले रोक्न खोजेका थिए तर, केसी मानेनन् । हिँड्ने बेला माथिल्लो पेटको दुखाइ चर्किएपछि उनलाई लिन आएको माइक्रोबस झन्डै एक घन्टा रोकिएको थियो । बिहीबार बेलुकी सप्तरी पुगेका उनले शुक्रबार बिहान ९ बजेदेखि दलित बस्तीमा स्वास्थ्य शिविर चलाएका थिए । उनी बाढीपीडितमाझ फैलिएको रोगव्याधीको उपचार गर्दै सोमबारसम्म खटिए ।

 

केसी एघारौं चरणमा २३ दिन अनसन बसेका थिए । उनले त्यसपछि ९ दिन मात्र आराम गरे । आरामको अभावले उनको शरीरका अंग सामान्य अवस्थामा छैनन् । उनलाई मधेसको गर्मीले झन् गलाएको आचार्य बताउँछन् । बाढीपीडितहरूको उपचारलाई नै मुख्य कारण बनाएर डा. केसीले एघारौं चरणको अनसन स्थगन गरेका थिए । अनसन क्रममा सरकारले गरेका बाचा पूरा भएका छैनन् । बरु अनसनकै बीचमा त्रिभुवन विश्वविद्यालयले भौतिक पूर्वाधार र डाक्टर तथा प्राध्यापकसमेत नभएको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको खुलासा भइसकेको छ । उक्त कलेजले सम्बन्धन पाएपछि बल्ल डाक्टर–प्राध्यापकको निम्ति विज्ञापन गरेको थियो भने बिरामी आकर्षित गर्न निःशुल्क उपचार दिने बताएको थियो । निःशुल्क सेवा दिन्छु भन्दा पनि कोही बिरामी गएका छैनन् ।

 

त्रिभुवन विश्वविद्यालय र सरकार मेडिकल शिक्षाको विकृति हटाउन गम्भीर नरहेको भन्दै डा. केसीले अर्को अनसनको चेतावनी दिएका छन् । नेसनल कलेजलाई दिइएको सम्बन्धन फिर्तासहित तीनबुँदे माग पूरा गर्र्न उनले भदौ २१ सम्मको अल्टिमेटम दिएका छन् । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको निम्ति पाँच वर्षभन्दा बढी समयदेखि आन्दोलनरत डा. केसीले ‘आफ्नोभन्दा तीन करोड नेपाली जनताको स्वास्थ्य महत्वपूर्ण भएको’ बताउँदै आएका छन् ।