सवारीसाधन नौ महिनामा ६ हजार दुर्घटना १९२ को मृत्यु, २३३ सख्त घाइते

 काठमाडौं,बैशाख ३१।काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ । २३३ जना सख्त घाइते भएको भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन् ।

 

चार हजार ८८ मोटरसाइकल/स्कुटी दुर्घटनामा परेका छन् । तीन हजार ९१३ कार, जिप र भ्यान दुर्घटनामा परेका छन् भने एक हजार ४३५ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । एक हजार ३०१ ट्रक/टिपर र ९४ वटा टेम्पो/ट्र्याक्टर दुर्घटनामा परेको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र केसीले जानकारी दिए । गत आर्थिक वर्षमा ६ हजार ३८१ दुर्घटना भएका थिए भने १९४ ले ज्यान गुमाएका थिए ।

मोटरसाइकल दुर्घटनामा मृत्यु हुने धेरै

प्रहरीको तथ्यांकअनुसार मोटरसाइकल दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । ७० जना पैदलयात्रीको पनि सडक दुर्घटनामा मृत्यु भएको छ । कार दुर्घटनामा ११, ट्रक दुर्घटनामा नौ, बस दुर्घटनामा सात, साइकलयात्री चार र माइक्रो दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।याे समाचार नयाँ पत्रिकादैनिकमा छ।

सडक सुरक्षा नीति नबन्दा समस्या

काठमाडौं महागनरपालिका सहरी योजना आयोगले पाँचौँ विश्व सडक सुरक्षा दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागीले सडक सुरक्षा नीतिको अभाव रहेको औँल्याएका छन् । सडकको दुरावस्था, साधनको अवस्था र प्रयोगकर्ताको लापरबाहीका कारण दुर्घटना बढेको सरोकारवालाको भनाइ छ । कार्यक्रममा कार्यपत्र पेस गर्दै एसपी केसीले सडक दुर्घटना कम गराउन आवश्यक नीति बनाउनुपर्ने बताए । सडक विभागका इन्जिनियर सरोजकुमार प्रधानले सडक सुरक्षा कानुनको अभाव, फितलो ट्राफिक व्यवस्थापन र सडकको दुरावस्थाका कारण दुर्घटना कम हुन नसकेको बताए ।

दुई हजार किमि सडक १० लाख सवारी

काठमाडौं उपत्यकामा दुई हजार १४ किलोमिटर सडक छ । तर, सवारी संख्या भने करिब १० लाख रहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरी तथ्यांकअनुसार उपत्यकामा ६१ किमि राष्ट्रिय राजमार्ग, ४८८ किमि सहायक राजमार्ग, १५८ किमि विस्तार भइरहेको सडक र १३०४ किमि भित्री सडक छ । आर्थिक वर्ष ०७४/०७५ मा देशभर ३२ लाख ५० हजार सवारी दर्ता भएका थिए । तीमध्ये बागमतीमा मात्रै ११ लाख ८४ हजार सवारी दर्ता भएका थिए । बागमतीमा दर्ता भएका सवारीमध्ये ९० प्रतिशत उपत्यकामा सञ्चालन हुने ट्राफिक प्रहरीको दाबी छ ।