भारतीय हस्तक्षेपका विरुद्ध नेपाली जनताको प्रतिरोध सीमा स्तम्भ तोडफोड

कञ्चनपुर,चैत्र २ । कञ्चनपुरका स्वाभिमानी नेपाली जनताले भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध सशक्त प्रतिरोध गरेका छन् । नेपाली भूमिमा पटक पटक अतिक्रमण गरेको भन्दै कञ्चनपुरका नेपाली जनताले भारतले बनाएको सीमा स्तम्भ तोडफोड गरिदिएका छन् ।

 

जिल्लाको बेलडाँडी गाउँपालिका–३ बैवाहमा भारतले निर्माण गरेको ७८३÷४ नम्बरको नेपाल–भारत सीमा स्तम्भ स्थानीयले शनिबार भत्काइदिएका हुन् । केही दिनअगाडि नेपाल–भारत संयुक्त सर्भे टोलीले निर्माण गरेको सीमा–स्तम्भ स्थानीय नेपालीले हतौडा र ढुंगाले हानेर फुटाएका हुन् । भारतले नेपाली भूमि हडप्न आफूहरूको लालपुर्जावाला जमिनमा सीमा–स्तम्भ खडा गरेकाले तोडफोड गरिएको स्थानीयबासीले बताए ।

 

लालपुर्जा भएको जमिनमा भारतले एकपक्षीय रूपमा सीमा–स्तम्भ बनाएर नेपाली भूमि अतिक्रमण गर्न खोजेको भन्दै स्थानीय नेपालीले विरोध गरेपछि सर्भे रोकिएको छ ।

 

६ दशकदेखि बसोबासरत स्थानीय नेपालीको जमिन भारतमा परेपछि सीमा विवाद चुलिएको छ । उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खक्रौला नाकातर्फ गएको बताइएको छ । सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै स्थानीय जनताले नेपाल सरकारको चर्को विरोध गरेका छन् ।