सवारी साधनको प्रदूषण परीक्षणमा आजदेखि कडाई

busकाठमाडौं । सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आज शुक्रबारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।

वातावरण विभागका अनुसार शुक्रबारबाट विभागले छड्के जाँच गरी कडा कारबाही गर्न लागेको हो ।

वायु प्रदुषण नियन्त्रणको उद्देश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न थालेको हो ।

वातावरण संरक्षण ऐनमा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने र सवारी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ ।

प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् । बढी प्रदुषण गराउने सवारी साधनलाई पहिलोपटक पाँ हजार र पटक–पटक गरी एक लाखसम्म जरिवाना हुनेछ  ।

छड्के जाँचको क्रममा कैयौँ सवारी साधन प्रदूषण परीक्षणमा फेल भएपछि वातावरण विभागले मंसिर मसान्तभित्र सवारी मर्मत गरेर दुरुस्त राख्न यसअघि नै निर्देशन दिएको थियो  ।

विभागले कारबाहीको चेतावनी दिएसँगै सरकारी, सार्वजनिक र निजी सवारी साधन प्रदुषण जाँचपासका लागि यातायात कार्यालय धाउन थालेका छन् । नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार ठूला तथा सार्वजनिक सवारीले ६–६ महिनामा तथा साना तथा मझौला साधनले एक वर्षमा एकपटक सवारीको प्राविधिक जाँच गराउँदा प्रदूषण जाँच पनि गराउनुपर्छ  ।

परीक्षण पास नभए रुट इजाजत निलम्बन, सवारी गुडाउन नपाउने, आवश्यक मर्मत–सम्भारपछि पुनः प्रदूषण चेकजाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने व्यवस्था छ  ।