७५३ वटै स्थानीय तहमा बल्ल पुग्यो प्रहरी कुन -कुन नगरपालिका र गाउँपालिका पुगे हेर्नुहाेस
काठमाडाै भदाै १८।संघीय संविधान जारी भएको ३ वर्षपछि मुलुकका सबै स्थानीय तहमा नेपाल प्रहरीको युनिट स्थापना भएको छ । प्रहरीमा नयाँ दरबन्दी थप भएपछि सबै ७ सय ५३ स्थानीय तहमा नेपाल प्रहरीको युनिट खडा भएको हो । यसअघि ४ वटा नगरपालिका र २६ वटा गाउँपालिका गरी ३० वटा स्थानीय तहमा नेपाल प्रहरीको उपस्थिति थिएन ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले अब मुलुकका सबै ७ सय ५३ स्थानीय तहमा नेपाल प्रहरी पुगेको बताए । उनले भने, ‘मुलुकमा संघीयता कार्यान्वयनमा आयो । तीनवटै तहका सरकार बने । तर, नेपाल प्रहरी सम्पूर्ण स्थानीय तहमा पुग्न सकेको थिएन । यही कारण बैंकका शाखा कार्यालयसमेत राख्न सकिएको थिएन । शान्तिसुरक्षाका विषय त छँदै थिए । तर, अब यो समस्या रहेन । सबै स्थानीय तहमा नेपाल प्रहरीको उपस्थिति पुगेको छ ।
कहाँ–कहाँ पुग्यो प्रहरी युनिट ?
नेपाल प्रहरीका अनुसार उदयपुरको लिम्चुङबुङ र रौतामाई, बाराको परवानिपुर, प्रसोनी र बरागढी, सिरहाको नरहा र अर्नमा, पर्साको कालिकामाई, महोत्तरीको महोत्तरी गाउँपालिकामा नेपाल प्रहरीको उपस्थिति थिएन ।
त्यस्तै, सप्तरीको कौडेना, ललितपुरको कोन्ज्योसोम, दोलखाको गौरीशंकर, सिन्धुपाल्चोकको हेलम्बु, मकवानपुरको मकवानपुरगढी, नुवाकोटको पञ्चकन्या, कास्कीको मादी गाउँपालिकामा पनि नेपाल प्रहरीको उपस्थिति थिएन ।
नेपाल प्रहरी पुग्न नसकेका अन्य स्थानीय तहमा पाल्पाको पूर्वखोला, रुपन्देहीको दार्मा, कालिकोटको पचालझरना, डोटीको आर्दश, बझाङको मस्टा, बाजुराको गौमूल र स्वामीकार्तिक गाउँपालिका थिए । यीबाहेक रौतहटको देवाही गोनाही र मौलापुर नगरपालिका, सुर्खेतको लेकबेसी र बाजुराको बढिनन्दा नगरपालिकामा नेपाल प्रहरीको उपस्थिति थिएन । अहिले भने यी सबै गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गरिएका छन् ।
शान्तिसुरक्षा र वित्तीय संस्थामा थियो असर
नयाँ संविधान जारी भएकै मितिबाट मुलुक संघीयतामा गएको भए पनि लामो समयसम्म प्रहरीका युनिट स्थानीय तहहरूका खडा हुन नसक्दा त्यसको चौतर्फी असर देखिएको थियो ।
आमजनता र संविधानअनुसार गठन भएका स्थानीय तहको सुरक्षामा समस्या देखिएको मात्र होइन, असुरक्षाकै कारण आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरूसमेत पुग्न सकेका थिएनन् ।
हरेक युनिटमा इन्स्पेक्टरको नेतृत्वमा ३० प्रहरी
थपिएका प्रहरी युनिटमा प्रहरी निरीक्षकको नेतृत्वमा कम्तीमा ३० प्रहरी कर्मचारी परिचालित हुँदै छन् । प्रहरी प्रवक्ता एसएसपी थापाले भने, ‘सम्पूर्ण तहमा इलाका प्रहरी कार्यालय स्थापना गरिएका छन्, जसको कमान्ड प्रहरी निरीक्षकले सम्हाल्नेछन् । उनको कमान्डमा कम्तीमा ३० प्रहरी कर्मचारी रहनेछन् । यो संख्या अपराध र जनघनत्वअनुसार थपघट हुन सक्नेछ ।
८ हजार दरबन्दी माग्दा ३ हजार मिल्यो
संविधान कार्यान्वयनका क्रममा स्थानीय तहहरू गठन भएपछि त्यहाँ प्रहरीका युनिट स्थापना गर्न नेपाल प्रहरीले सुरुमा सरकारसँग करिब २२ हजार प्रहरी कर्मचारीको दरबन्दी थप गर्न प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले असहमति जनायो ।
त्यसपछि ८ हजार प्रहरी कर्मचारी थप्न नेपाल प्रहरीले अर्को प्रस्ताव पेस ग¥यो, जसलाई अर्थले स्वीकृति दियो । त्यसपछि गत २७ जेठको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ३ हजार १ सय दरबन्दी थप्ने निर्णय गरेको थियो ।नयाँ पत्रिकाबाट।