सुप्रिम सहकारी ठगी प्रकरण :रविको बयान न्यायाधीश योगीको इजलासमा

काठमाडौं । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् ।
यसअघि कास्की र काठमाडौंबाट धरौटी रकम तिरेर रिहा भएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आज बिहान आफैं अदालतमा हाजिर भएका हुन् ।
उनको बयान जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको अदालतका स्रेस्तेदार तथा उपसचिव यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान दिन उनी हिजै बुटवल पुगेका थिए । सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसलगत्तै उनी काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।
काठमाडौंमा पनि ६० लाख रकम धरौटी बुझाएर उनी रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो।
