सशस्त्र प्रहरीका १५ जना खेलाडीको बढुवा

काठमाडौं । सशस्त्र प्रहरी, नेपालले आफ्नो संगठनमा आवद्ध १५ जना खेलाडीको विशेष बढुवा गरेको छ । १२ जना खेलाडी प्रहरी जवानबाट पदोन्नति भई सहायक प्रहरी हवल्दार बनेका छन् ।

२४औँ सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय ९नेपाल एपीएफक्लव०मा कार्यरत विभिन्न दर्जाका प्रहरीलाई बढुवा गरिएको हो ।

सोक्रममा महिला फुटबल प्रशिक्षक भगवती थापा प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् भने महिला फुटबल खेलाडीहरू अनिता केसी र गीता रानाको बढुवा भएको छ । उनीहरू दुवै सहायक हवल्दार बनेका छन् ।

यस्तै, महिला भलिबल खेलाडीत्रय हीरा केसी, कविता भट्ट र सरु लिम्बू पनि प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका छन् ।

एथलेटिक्सका दुई खेलाडी गोपिचन्द्र कार्की र फूलमती राना विशेष बढुवामा परेका छन् । उनीहरू सहायक हवल्दारबाट हवल्दार भएका छन् ।

यस्तै, उसु खेलाडी अशोक खालिङ र कविता थापा सहायक हवल्दारमा बढुवा भएका छन् भने महिला ह्यान्डबलकी बन्दना राई, कराँतेका मोहम्मद शेखु आलम, फुलकन्ट्याक्ट कराँतेका सञ्जय राई, महिला कबड्डीकी रविना चौधरी पनि सहायक हवल्दार बनेका छन् ।

एक क्रिकेट खेलाडी पनि बढुवा भएका छन् । बढुवा हुनेमा क्रिकेटर सन्दीप जोरा रहेका छन् । उनलाई प्रहरी जवानबाट बढुवा भएर सहायक हवल्दार बनेका छन्।