झापाको एभरेस्ट होटलमा युवकको मृत्यु, प्रेमिकासहित २ जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एक होटलमा लडेर बेहोस भएका युवकको मृत्यु भएको छ। गएराति होटल एभरेस्टको शौचालयको ढोकामा लडेर बेहोस भएका हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्नाको मृत्यु भएको हो।

प्रहरीका अनुसार प्रेमिका मुना विकसँग उक्त होटलमा गएका उनी शौचालयको ढोकामा लडेर बेहोस भएका थिए। त्यसपछि बिर्तासिटी अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।