धादिङमा माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते

काठमाडौं । धादिङमा माइक्रो बस दुर्घटना भएको छ । शनिबार बिहान ८ बजेतिर नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारास्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । दुर्घटनामा भएको माइक्रोमा १४ जना यात्रु सवार थिए । उनीहरूमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा भरतपुर महानगरपालिका–९ का ४३ वर्षीय प्रकाश अधिकारी, वडा नम्बर ७ का ५० वर्षीय मनबहादुर पुन, वडा नम्बर ८ की २५ वर्षीया स्वस्तिका पौडेल, २३ वर्षीया अञ्जली रिजाल र वडा नम्बर ५ का ५० वर्षीय सुदर्शन थापा छन्।

उनीहरूको प्रशान्त फार्मेसी चौकीटारमा उपचार भइरहेको छ।माइक्रो र चालकलाई प्रहरी चौकी जोगीमाराले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।