राजाका ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइन: मन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम तथा पञ्चमार्क मुद्रा र भित्रिकोट दरबार अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले क्रान्ति राजा वीरेन्द्र, पूर्वराजा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताए।

उनले क्रान्ति इतिहासमा, समाजमा, कृषि, विद्युत, उत्पादन प्रणाली र विज्ञान प्रविधिमा देखिनुपर्ने बताए। मन्त्री गुरुङले राजनीतिक क्रान्तिको रापले यी विषयहरु छुन नसकेको बताए।

मन्त्री गुरुङले भने, ‘जेजे भइरहेको छ, त्यो मात्रै होइन हरेक चिजमा चेन्ज आउनुपर्‍यो। केही न केही परिवर्तन हुनुपर्‍यो। अनि न क्रान्ति भयो।

क्रान्ति भनेको खालि वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति हुँदैन नि।

मन्त्री गुरुङले यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताए।