एउटा सदनका सांसदलाई अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दुःखद: सांसद पन्त

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संसद दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताए।

उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने चिन्ता गरे।

उनले राष्ट्रियसभा भनेको वृद्धाश्रम नभएको पनि बताए। राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताए।

उनले भने,हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ। यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ।

हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रश्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद् हो।

यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ।

राष्ट्रियसभा भनेको वृद्धाश्रम होइन। तर राष्ट्रिय सभा भनेको पाकाहरुको सदन हो। त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन।

उनले दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताए।