अमर्यादित बनेर होली खेले कारबाही गर्ने तीनवटै जिल्ला प्रशासनको चेतावनी
काठमाडौं। काठमाडौँ उपत्यकामा मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउन तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरले सार्वजनिक अनुरोध गरेको छ।
तीनवटै प्रशासन कार्यालयले आज अलगअलग सूचना जारी गरी सभ्य, मर्यादित र संस्कृति अनुसार होली पर्व मनाउन अनुरोध गर्दै उच्छृङ्खल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडकका साथ होली पर्व मनाए कडा कारबाही गर्ने थाहाखबरलाई बताए।
काठमाडौँ प्रशासनले आज सूचना जारी गर्दै भनेको छ, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ।
तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने,कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ।
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरिएको छ।
आजै ललितपुर र भक्तपुर प्रशासनले पनि सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र मर्यादित रुमपा मनाउन अनुरोध गर्दै तडकभडक गरे कारबाही हुने चेतावनी दिएको छ। यही फागुन २९ र चैत १ गते होली पर्व मनाईंदै छ ।
