गोदावरीमा दोस्रो अन्तरपालिका मेयर कप सुरु,गृहमन्त्री लेखकको स्थानीय खेलकुद प्रवर्द्धनमा जोड
ललितपुर। ललितपुरको गोदावरी नगरपालिकामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला ‘गोदावरी मेयर कप’ फुटबल प्रतियोगिता भव्य समारोहबीच सुरु गरिएको छ। उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धन तथा युवा प्रतिभाको विकासका लागि यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। स्थानीय तहमा हुने यस्ता प्रतियोगिताले युवालाई अनुशासित,सक्रिय र सकारात्मक मार्गमा डो-याउने मात्र होइन, राष्ट्रियस्तरको खेल प्रतिभा उत्पादन गर्ने आधार तयार गर्छ,मन्त्री लेखकले भने। साथै उनले स्थानीय सरकारहरूलाई खेलकुद पूर्वाधारमा लगानी बढाउन र दीर्घकालीन योजना बनाउँदै अगाडि बढ्न आह्वान गरे।
प्रतियोगिता गोदावरी नगरपालिकाको आयोजनामा सुरु गरिएको हो, जसमा उपत्यकाभित्रका विभिन्न १६ वटा नगरपालिका तथा गाउँपालिकाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिता लिग र नकआउट चरणमार्फत सञ्चालन गरिनेछ भने फाइनल खेल एक सातापछि हुनेछ।
नगरप्रमुखको अपेक्षा: स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्चमा पु-याउने योजना
गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन समारोहमा भने खेलकुदले युवालाई ऊर्जावान बनाउनुका साथै सामाजिक एकता र भाइचाराको भावना बलियो बनाउँछ। यस्तो प्रतियोगिता हाम्रो नगरको खेल क्षेत्रको विकास र स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा लैजाने एक महत्वपूर्ण पाइला बन्ने विश्वास व्यक्त गरे।
नगरपालिकाले यस प्रतियोगितालाई नियमित वार्षिक कार्यक्रमका रूपमा स्थायी बनाउन तयारी गरेको जनाएको छ। गोदावरी नगरपालिकाका अनुसार यस्ता प्रतियोगिताले नगरको समग्र सामाजिक,सांस्कृतिक र खेलकुद सम्वृद्धिमा योगदान दिने छन्।
