तीन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले बिहिवार सूचना जारी गरी विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

जसमा बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञेश्वर निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै काठमाडौँ महानगरपालिका–१४ ठेगाना उल्लिखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन्।

सल्यानको लेख पोखरा–६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएकाले उक्त अवधिभर उनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।