आज यी स्थानमा चट्याङसहित वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
यसको प्रभावले सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घन्टामा ५ मिलिमिटर वर्षा भएको छ ।
ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी, सुर्खेतको रातानांग्लामा पनि छिटपुट वर्षा भएको छ । कैलालीको धनगढीमा पछिल्लो एक घन्टामा ११.६ मिलिमिटर वर्षा मापन भएको छ भने कञ्चनपुरको दोधारामा १०.२ र कृष्णपुरमा ८.६ मिलिमिटर वर्षा भएको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।
दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

