कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ । अहिले बिहान ९ बजे बस्नेगरी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
बूढानीलकण्ठस्थित सभापति देउवाकै निवासमा बस्ने बैठकमा पूर्वपदाधिकारी पनि सहभागी हुनेछन् । बैठकमा क्रियाशील सदस्यता नवीकरणका विषय र समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेन्डा छ ।
महामन्त्री गगन थापा संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिहरूलाई हालै निर्देशन दिएको छ ।
क्रियाशील सदस्यताबारे कांग्रेसमा २१ सय उजुरी आएका छन् । ती उजुरी अनुशासन समितिमा परेका हुन् । केही जिल्लामा विवाद हुँदा क्रियाशील सदस्यता नवीकरणका काम प्रभावितसमेत हुने गरेको छ । बैठकमा अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

