सशस्त्र प्रहरी बलमा मनसुनजन्य विपद् व्यवस्थापनको तयारीबारे छलफल
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारी सम्बन्धी छलफल सम्पन्न भएको छ।
कार्यक्रममा गृहमन्त्री लेखकले मनसुनको समय नजिकिँदै गरेकोले सबै सुरक्षा निकायलाई विपद् उद्धारका लागि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिए।
उनले विपद्का बेला तीव्र सूचना आदानप्रदान र उद्धार टोली परिचालनका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वयमा काम गर्नुपर्नेमा जोड दिए।
पूर्व सूचनाका आधारमा जोखिमयुक्त स्थानहरू पहिचान गरी उद्धारका लागि तयारी अवस्थामा रहनुपर्छ, उनले भने। विगतका घटनाबाट पाठ सिकेर योजना बनाउन र यस वर्षको सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलका सबै युनिटमा जनशक्ति र सामग्री तयारी अवस्थामा राख्नुपर्छ ।
गृहमन्त्री लेखकले उपलब्ध स्रोतसाधनको सही परिचालनमार्फत जोखिम न्यूनीकरण र नागरिकको जीउधनको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी नागरिकको गुनासो नआउने गरी प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।
निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्का बेला सबै निकायसँग समन्वय र सहकार्यको महत्त्व उल्लेख गर्दै सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण हुने बताए।
निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलले विगतको अनुभवलाई आधार मानेर मनसुन प्रतिकार्य योजना, २०८२ तयार गरेको जानकारी दिए। उनले ८ वटा बाहिनी मुख्यालय, २ तालिम शिक्षालय, १ गण, ९ वटा बेस र २ रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामग्रीसहित जनशक्ति तैनाथ गरिएको बताए।
सशस्त्र प्रहरी बलका २,४८१ जना विपद् व्यवस्थापन तालिम प्राप्त र १२८ जना गोताखोर जनशक्तिलाई विशिष्टिकृत उद्धार सामग्रीसहित सातै प्रदेशमा परिचालन गरिएको छ, पौडेलले भने । “हाल ९ वटा विपद् व्यवस्थापन बेस स्थापना भएका छन्, र आगामी मनसुनका लागि थप ३५ स्थानमा अस्थायी बेस स्थापना गर्ने लक्ष्य छ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका सबै बाहिनी मुख्यालयले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीबारे जानकारी गराएका थिए। सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दीगविजयी सुवेदीले विपद्का बेला सशस्त्र प्रहरीको भूमिका, क्षमता र प्रतिकार्य योजनाबारे प्रस्तुति दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गृहमन्त्रालयका सहसचिवहरू रामचन्द्र तिवारी र डा.टोकराज पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनी श्रेष्ठलगायत गृहमन्त्रालय र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको उपस्थिति थियो।
