स्कटल्यान्डद्धारा नेपाललाई २९७ रनको लक्ष्य

काठमाडौं। अङ्क तालिकामा कमजोर बन्दै गएको नेपाललाई आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डले सोमबार २९७ रनको विशाल लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको हो।स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे। नेपालका तीव्र गतिका बलर करण केसी ८० रनमा खेलि रहेका उनलाई विकेट किपर आसिफ शेखबाट क्याच आउट गराएका हुन्।
फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रनमा आउट भए। उनी ५०औँ ओभरमा सोमपाल कामीको बलमा आउट भए।
कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए। कप्तान बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए।
म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए। क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए। माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए। लिस्क रिजन ढकालको बलमा भीम सार्कीबाट क्याच आउट भए।
ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे। नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ३१ बलमा १९ रनमा खेलिरहेका मक्कमुलनलाई बासिर अहमदबाट क्याच गराएका थिए।
नेपालले पहिलो विकेटका रुपमा स्कटल्याण्डले ओपनर जर्ज मुन्सीलाई आउट गराएका थिए। मुन्सी रिजन ढकालको बलमा १२ रनमा आउट भएका थिए । मुन्सी लामो सटको प्रयासमा सोमपाल कामीबाट समातिएका थिए।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो। लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
नेपाल १२ खेलमा ६ अङ्कका साथ लिग तालिकाको पुछारमा छ। स्कटल्याण्ड सिरिजमा घरेलु टोली र नेपाल सहित नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ। स्कटल्याण्ड १६ खेलमा २० अङ्कका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ।
