गल्ती नगर्नेलाई जेल,हजारौं मान्छे मारेको स्वीकार्ने प्रचण्डलाई चाँहि चैन
रुषा थापा
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अहिले जेलमा छन्। उनी सहकारीको ऋणी र सदस्य नरहेको प्रमाणित हुँदासमेत सरकारले उनलाई समातेर जेल हालेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको दश वर्षे जनयुद्धमा १७ हजार सर्वसाधारण मरे।
प्रचण्डले केही वर्षअघि एक सार्वजनिक कार्यक्रममा भनेका थिए,१७ हजारमध्ये पाँच हजार मान्छे मैले मारेको हुँ। यदि सरकारले सक्छ भने मलाई जेल हालोस्।अहिले जनता प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सोध्छन्,सहकारीको सदस्य र ऋणी नरहेको व्यक्तिलाई चाँहि जेल कोच्ने अनि आफैंले पाँच हजार मान्छे मारेको स्वीकार्ने व्यक्तिलाई चाँहि छोडिदिने, किन ?
प्रचण्ड अपराधी हुन्। १७ हजार जनता मार्ने नाइके हुन्। सर्वसाधारणलाई जनयुद्धले दिएको चोट अझै भरिएको छैन । जनयुद्धका क्रममा अंगभंग भएका, गोली लागेकाहरु उपचारका लागि तड्पिनु परेको छ। दश वर्षे जनयुद्धले देशमा ठूलो मानवीयसँगै भौतिक क्षतिसमेत गर्यो । विडम्बना, यसका नाइके प्रचण्डमाथि राज्य कुनै कारबाही छैन। सरकार उनीसामु लाचार छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशमलाल चौधरीलाई जेल पठाउन झुटो पत्र लेखेको आरोपमा केही दिनअघि सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्ट समातिए। चौधरी दुधे बालकसहित नौ जना मारिएको टिकापुर घटनाका नाइके भएको तर खुलेआम हिँडेकाले पीडितलाई झनै पीडा भएपछि सहन नसकेर आफूले पत्र लेखेको उनको भनाइ छ। सिंहले त्यसका लागि आफू जुनसुकै सजायका निम्ति तयार रहेकोसमेत बताएका थिए।
नेपालका जेलहरुमा कैदीहरुको संख्या दिनानुदिन बढिरहेको छ। जेलमा कैदी बस्ने ठाउँ छैन। रोचक कुरा चाँहि अधिकांश झुटो आरोपमा जेल जीवन काटिरहेका छन्। उनीहरुलाई छुट्याउन सरकार केही गर्दैन। किनकि यहाँ त निर्दोष व्यक्तिलाई मात्र जेल हालिन्छ। दोषीलाई त जतिसुकै ठूलो कसुर गरेपनि पक्राउ गर्नसमेत सरकार सक्दैन।
इँट्टाभट्टामा जीउँदै मान्छे पोलेर मारेको आरोप लागेका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आलब केही दिनअघि मात्र छुटेका छन्। जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका उनले उच्च अदालतबाट सफाई पाए। तर, कुन आधारमा उच्च अदालतले उनलाई सफाई दियो? भन्ने आम सर्वसाधारण अन्यौल छ। आलबले इँट्टाभट्टामा जीउँदै मान्छे पोलेर मारेको प्रमाण हुँदाहुँदैसमेत सफाई दिइनुले समग्र न्याय प्रणालीमाथि नै प्रश्न उठेको छ।
न्यायबाट आम जनताको विश्वास उठेको छ । स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेकी काँग्रेस नेतृ माया राई छुटेकी छन् । सहकारीको दुई कार्यकाल सचिव भएको प्रमाण हुँदाहुँदै उनलाई पार्टी पहुँचमा छोडियो । सहकारी ठगीकै आरोप लागेकी एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला लामो समयदेखि फरार रही अदालतमा उपस्थित भएकै दिन धरौटीमा रिहा भइन्।
नक्साल बालमन्दिर जग्गा प्रकरणमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहविरुद्ध मुद्दा दायर भइसकेको छ। यद्यपि, उनलाई पक्राउ गर्न प्रहरीले आँट गरेको छ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई सर्वोच्च अदालतले नै दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइसक्यो।
यतिमात्र होइन उनले साढे चार अर्ब राजस्व छलेकोसमेत अदालतले नै ठहर गरिदिएको छ। दुर्भाग्य, एमालेमा आस्था राख्ने भएकै कारण उनलाई प्रहरीले समातेको छैन। उल्टै .राज्यको सम्पत्ति दोहन गर्नेबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको छ। पछिल्लो केही वर्षमा विभिन्न कसुरमा राजनीतिक दलका नेता, कार्यकर्ताको संलग्नता देखिएको छ । कतिपयलाई पक्राउसमेत गरियो भने अधिकांश त फरार नै भए ।
पक्राउ परेपछि नेताहरुको बास नै अस्पतालमा हुँदै आएको छ। कि त उनीहरुका लागि प्रहरी कार्यालयमै छुट्टै व्यवस्था मिलाइन्छ । तर, रास्वपा सभापति रवि लामिछाने पटक पटक पक्राउ पर्दासमेत अस्पताल बसेनन्। न त उनी फरार नै भए। अन्य दलका नेता, कार्यकर्ता एक दिन हिरासतमा बस्न डराएर अस्पताल भर्ना हुँदा लामिछाने अहिलेसम्म अस्पताल भर्ना भएको पाइँदैन। जसले उनको कानूनप्रतिको सम्मानलाई समेत देखाएको छ।
यता, १७ हजार जनता मारेपनि प्रचण्डलाई अझै नपुगेको देखिन्छ । उनले आफ्ना कार्यकर्तालाई राजावादीमाथि आक्रमण गर्न निर्देशन दिइसकेका छन्। राजावाचदीलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिएका उनले केही भएमा आफूले सम्पूर्ण जिम्मेवार लिने बताएका छन्।
किनकि जस्तोसुकै ठूलो अपराध गरेपनि आफूमाथि कारबाही नहुनेमा प्रचण्ड विश्वस्त छन्। देशमा लोकतन्त्र गणतन्त्र आएको १८ वर्ष बित्यो।
यस अवधिमा देशले के पायो ? स्पष्ट जवाफ छ, २७ खर्ब विदेशी ऋणको बोझ। देशमा रोजगारी छैन।
नेपाली युवाहरु रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पलायन भएका छन् । १८ वर्षदेखि ५२ वर्षसम्मका व्यक्तिहरु विदेशमा रगत पसिना बगाइरहेका छन् । दैनिक हजारौंको संख्यामा युवाहरु विदेशिरहेका छन्।
प्रचण्ड तीन पटक प्रधानमन्त्री बने । बाबुराम भट्टराई एक चोटि भए । माओवादी वार्तामा आएयता हरेक पटक सरकारमा गएको छ । त्यो चाँहे काँग्रेसको प्रधानमन्त्री हुँदा होस् या एमालेको । माओवादी सरकारबिना बस्नै सक्दैनन् । यसरी पटकपटक सरकारमा गएको माओवादी र त्यसबाट प्रधानमन्त्री बन्नेहरुले देश र जनताको लागि एउटै राम्रो काम गरेका छैनन् ।
उल्टै राज्यलाई हानि हुने काम गरे । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ललिता निवास, थानकोटको मातातीर्थको सरकारी जग्गा व्यक्तिको नाममा पास गराइदिए । २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्डले नेपाली सेनाका तत्कालिन प्रमुख रुक्माङ्गद कटवाललाई ०६६ वैशाख २० गते बर्खास्त गरे । यतिमात्र नभई पशुपतिनाथ मन्दिरको पूजारीसमेत हटाए । त्यसपछि चर्को आलोचना खेपेका प्रचण्डले अन्तः प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
अहिले प्रचण्डको हातमा ७८ लाखको घडी छ । उनी दरबारजस्तो घरमा बस्छन् । छोरीलाई मेयर बनाए । प्रधानमन्त्री हुँदा स्वकीय सचिव पनि। बुहारीलाई मन्त्री बनाए त भाइलाई राष्ट्रिय सभा अध्यक्ष । प्रचण्डले देश र जनताका लागि केही गरेनन् । जति गर्नु थियो, परिवारका लागि गरे । उनी जतिपटक सत्तामा गएपनि देश र जनताका लागि सिन्कोसमेत भाँचेनन् । १७ हजार जनता मारे ।
विडम्बना, भारत र चीनले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउन सकेनन् । न त देशमा उद्योग, कलकारखाना नै खोले । उल्टै भएकासमेत भारतको लहैलहैमा लागेर बन्द गराए।
व्यक्तिका नाममा गएका सरकारी, सार्वजनिक जग्गा राज्यको नाममा ल्याउनसमेत चासो दिएनन् । प्रचण्ड १७ हजार जनता मार्ने नाइके हुन्। त्यसैले, अब सरकारले उनलाई नसमातेपनि जनता अघि बढ्नुपर्छ । जनता आफैं कारबाहीमा उत्रिनुपर्छ।
कारागारमा बसेका व्यक्तिका आफन्त तथा परिवारले पनि कि त प्रचण्डलाई जेल हाल्नुपर्ने होइन भने आफ्ना व्यक्तिलाई पनि छोड्नुपर्छ भनेर आवाज उठाउनुपर्छ। किनकि सानो गल्ती गर्नेलाई चाँहि जेल अनि ठूलो गल्ती गर्ने चाँहि खुलेआम हिँड्न पाउने !
