संसदको अवरोध अन्त्य गर्न प्रमुख सचेतक बर्तौलाको आग्रह
काठमाडौं। संसदीय बैठकमा निरन्तर बाधा पुगिरहेका बेला नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूलाई सहयोग गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठक आज पनि बस्दै नबसी स्थगित भएपछि बर्ताेलाले आइतबार गृहमन्त्रीलाई संसदमा बोल्न दिने गरि विपक्षीसँग सहमति हुने अपेक्षा रहेकाे बताए।
बजेट छलफलमा समस्या
एमाले प्रमुख सचेतक बर्तौलाले हिजो र अस्ति सूचना टाँस गरेर विशेषगरी प्रमुख प्रतिपक्ष लगायत दलहरूको आग्रहअनुसार नै सदनलाई सहयोग गरेको बताए। उनले आज पनि बैठक बस्न नसेकेर आइतबार एक बजे बस्ने गरि बैठक स्थगित गरिएकाे र आइतबार समयमै बैठक बस्ने विपक्षी दलहरूले गृहमन्त्रीलाई बोल्न दिने र बजेटमाथिको बहस छलफललाई अगाडि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल हुन नदिनु गलत भएको भन्दै उनले सिंगो देशले बजेट कस्तो आयो, यसका समीक्षा र सुझावहरू कस्ता छन् भन्ने जान्ने नागरिक र जनताको अधिकार रहेको बताए।
अख्तियारको मुद्दामा सरकारको अडान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै मुद्दा दायर गरेका पूर्वप्रधानमन्त्री तथा अध्यक्ष माधवकुमार नेपालका विषयमा प्रमुख सचेतक बर्तौलाले यो घटना पहिलो पटक भएको बताए। उनले यसले हाम्रा संयन्त्रहरू फरक तरिकाले अगाडि बढ्न थालेको टिप्पणी गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्यो भन्ने हामीले पनि सार्वजनिक मिडियाबाट थाहा पायौं,उनले भने। यसको बारेमा उचित प्रक्रिया पुगेको छ कि छैन भन्ने कुरा सम्मानित अदालतले परीक्षण गर्ने बताए।
संवैधानिक संस्थाको सम्मान गर्न आग्रह
प्रमुख सचेतक बर्तौलाले राज्यका सबै निकायमाथि अविश्वास गरेर निर्णय गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे। उनले यस्तो परिस्थितिमा मन्त्रिपरिषद्ले गर्नुपर्ने निर्णयहरूबाट पछि हट्ने खतरा रहेको र यो मुलुकको लागि दुर्भाग्य हुने बताए।
कानुनी प्रबन्धका सीमाभित्र बसेर गरिएका क्याबिनेटका निर्णयहरू नीतिगत निर्णय भएको र तीलाई सोही अनुसार ग्रहण गर्नुपर्ने उनको भनाइ छ।
छानबिन समितिको विषयमा सरकारको धारणा
संसदीय छानबिन समिति गठन गर्ने विषयमा प्रमुख सचेतक बर्तौलाले संवैधानिक संस्थाको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए। उनले संविधानअनुसार निर्माण भएको संरचनाले गरिरहेको अध्ययन अनुसन्धानको प्रतिवेदन आउन बाँकी रहेको र त्यो भन्दा पहिले संसदले बनाउने तदर्थ समितिले के छानबिन गर्न सक्ने प्रश्न उठाए।
एक देखि तीन महिनाको तदर्थ समितिको छानबिनभन्दा संवैधानिक संरचनाको अनुसन्धान कयौं गुणा प्रभावकारी हुने उनको दाबी छ।
राजनीतिक दलहरूलाई सहयोग गर्न आग्रह
प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूलाई जिम्मेवार बन्न आग्रह गरे। उनले आज उहाहरूले आफूलाई समीक्षा गरेर सदनलाई अगाडि बढाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
संसदलाई रचनात्मक र सृजनात्मक बहसको थलो बनाउन र गृहमन्त्रीलाई जवाफ दिने वातावरण निर्माणमा सबै दलको सहयोग आवश्यक रहेको उनले बताए।
