भिजिट भिसाबारे सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जनाए संसद् सुचारु हुने

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सकिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए।

बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन्। नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपर्ने सर्त अघि सारिएको छ।

यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन्। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी बसेको थियो।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन्।