संसद खुलाउने नाममा कांग्रेस–माओवादी नजिकिँदै,ओली सत्ता गुम्ने त्रासमा
रनसुर महतारा (रमेश)
काठमाडौं। संसदको अवरोध हटाएर विधायिका सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पछिल्लो समय राजनीतिक संवाद र समन्वय तीव्र हुँदै गएको छ। केही महिनादेखि दुवै दलका विभिन्न तहका नेताहरूबीच दर्जनौं पटक छलफल भएका छन्।
सरकारको मुख्य साझेदार कांग्रेसले संसद सञ्चालनका लागि सक्रिय भूमिका खेलेको देखिन्छ। गृहमन्त्री पनि कांग्रेसकै पक्षबाट भएकाले यो सक्रियतालाई स्वाभाविक मान्न सकिन्छ। तथापि, सभामुखको मौनता र प्रमुख प्रतिपक्ष एमालेको चासो घटिरहेको अवस्थाले राजनीतिक वातावरणमा शंका र प्रश्नहरू जन्माएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा कांग्रेस र एमालेबीचको सहकार्य तोड्न विपक्षीहरू लागिपरेको आरोप लगाएका छन्। ओलीको यो अभिव्यक्तिले राजनीतिक तहमा गतिरोधको समाधान खोज्ने प्रयासमा रहेको कांग्रेस–माओवादी निकटतालाई थप विवादस्पद बनाएको छ।
राजनीतिक विश्लेषकहरूले यो समन्वयलाई संसद खुलाउने प्रयाससँगै नयाँ सत्ता समीकरणको सुरुवात भएको संकेतका रूपमा पनि हेरिरहेका छन्। संसद खुलाउने बहानामा कांग्रेस र माओवादीबीचको बढ्दो सहकार्यले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको एमालेलाई चुनौती दिन सक्ने सम्भावना बढेको उनीहरूको अनुमान छ।
सांसद र सरकार सञ्चालनमा गृहमन्त्रीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसकारण गृहमन्त्री कांग्रेसमा रहेकाले संसद सञ्चालनका लागि कांग्रेसको सक्रियता अपेक्षित हो। तर माओवादीसँगको समीपता र गठबन्धन पुनः नजिकिँदै गएको कुराले आगामी राजनीतिक परिदृश्यमा नयाँ खिचातानी र समीकरण फेरिन सक्ने देखिन्छ।
सभामुखको मौनता र एमालेको निष्क्रियता पनि यस अवस्थामा चर्चा योग्य विषय बनेको छ। संवैधानिक निकायको जिम्मेवारी हो कि संसदलाई सुचारु राख्ने र राजनीतिक विवाद समाधानतर्फ कदम चाल्ने। तर अहिलेको अवस्था त्यस्तो नदेखिनु चिन्ताजनक मानिन्छ।
यसबीच संसदको अवरोध फुकाउने बहानामा चलेको संवाद र गठबन्धन समीपता आगामी राजनीतिक दिशालाई कसरी प्रभाबित गर्नेछ भन्ने विषयमा देशभर चासो र चर्चा बढ्दो छ। आगामी दिनमा राजनीतिक घटनाक्रमले यस विषयमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
